
बाढीले धानबाली र विद्यालयमा क्षति
- श्रावण २७, २०८० मा प्रकाशित

कैलाली । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका–८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्यो’, उनले भने । बाढीले उनको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए । ‘नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ’, उनले भने, ‘धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।’
भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनको भनाइ छ । ‘कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ’, उनले भने । बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ । भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ ।
डुबान हुँदा धानबाली पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताए । ‘हरेक वर्ष यहाँका किसानले बाली गुमाउनु परेको छ’, उनी भन्छन्, ‘दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखाँै खर्चिएर खेती गरेकाहरु बाढीका कारण रुनु परिरहेको छ ।’ यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पुर्याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ ।
विद्यालयमा पनि क्षति
सोमबार र मङ्गलबार लगातार आएको वर्षापछि साउन २३ गते आएको बाढीले कैलालीका बाढी प्रभावित क्षेत्रका विद्यालयमा समेत क्षति पुगेको छ । बाढीले विद्यालयमा पानी पस्दा कागजात, कापी किताब, बिच्छ्याइएका कार्पेट, बालबालिका बस्ने कुसन नष्ट भएका छन् ।
टीकापुर नगरपालिका–६ भगवानपुस्थित खड्ग आधारभूत विद्यालयका चार कोठामा बाढी पसेपछि कार्पेट, शैक्षिक सामग्रीलगायतमा क्षति भएको छ । विद्यालयमा परीक्षा चलिरहेकाले पानी पसेका कोठामा सरसफाइलगायतका काम भइरहेका, भिजेका कागजात सुकाउन लागिएको प्रधानाध्यापक रामप्रसाद खनालले बताए । ‘बाढीले भिजेका कागजात सुकाउन थालेका छौँ, राम्ररी घाम पनि लागेको छैन, कतिपय किताब काम नलाग्ने गरी नष्ट भएका छन्’, उनले भने ।
जनज्योति आधारभूत विद्यालय भर्तापुरका प्रधानाध्यापक पूर्णप्रकाश शाह बाढी विद्यालयमा पसेपछि करिब रु ५० हजार बराबरको क्षति भएको बताए । ‘भर्तापुरमा कार्पेट, कुसन, काजगात र किताब भिजेका छन्’, उनले भने, ‘विद्यालयमा परीक्षा चलिरहेकाले दुई कोठा सफा गरेर परीक्षा भइरहेको र बाँकी बाढीका कारण हिलाम्मे भएकाले विद्यालय सरसफाइ गर्ने काम भइरहेको छ ।’
नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरीले बाढीले विभिन्न स्थानमा विद्यालयमा क्षति पुर्याएको बताए । ‘वडा नं ८ का सबै विद्यालय र वडा नं ३ का जाल्पा आधारभूत विद्यालय बर्दवाफाँटा, पडरियास्थित केदारनाथ आधारभूत विद्यालय र मदरसा विद्यालयमा बाढी पसेको छ’, उनले भने, ‘वडा नं ८ मा शिव आधारभूत विद्यालय, कृष्णध्वज मावि, कालिका आधारभूतलगायतका विद्यालय डुबानमा परेका छन् । शिक्षकलाई पूर्व तयारीबारे जानकारी भएकाले विद्यालयका कागजात सुरक्षित छन् । अब सरसफाइलगायतका कार्य गर्नुपर्नेछ ।’ भजनीका विद्यालयमा बर्खे बिदा भएकाले विद्यालय बन्द हुँदा पढाइमा असर नपरेको उनको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments