•  ७ मंसिर २०८१, शुक्रबार
  •  7:47:54 AM

खाेटाङमा छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन स्वास्थ्य चौकी

- जेष्ठ १८, २०८० मा प्रकाशित



खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम  बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ ।सं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ ।

रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने । हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ । ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’, न्यौपानेले भने ।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तिकरण समूहको भवनबाट सञ्चालित छ ।

ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ । ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसा समेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा. युवराज पौडेलले बताए ।

Comments

सम्बन्धित खवर