मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै
- जेष्ठ ५, २०८० मा प्रकाशित
धनुषा । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमानको घर) मै मनाउनु पर्छ । बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र र लाउने लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।
शुक्रबार आज एकाबिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्ने चलन रहेको छ ।
पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रगाउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहँेलो र रातो धागोले बेर्छन् ।
आँप र कलश लिएर तीन पटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । यसपछि पत्नीले पतिको खुट्टा धोएर चनामृतको रुपमा पिउँछिन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास गरेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।
यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान र स्वच्छ तन मन धनले बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामसहित यसलाई मनाउने गर्दछन् । नयाँ साडी लगाएर आफ्नो सिउँदोमा सिन्दूर हालेर विधिविधानसहित यस पर्वलाई मनाउने परम्परा रहेको छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै गाउँ बाहिर जहाँ बट वृक्षको अवस्थिति हुन्छ । त्यस ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकका उल्लेख छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments