•  ७ मंसिर २०८१, शुक्रबार
  •  3:58:54 PM

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

- जेष्ठ ३, २०८० मा प्रकाशित



खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । यसअघि बुस्टर डोज लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लगाइने छ ।

गत वर्ष चैत २४ गतेदेखि वैशाख १९ गतेसम्म जिल्लाका छ हजार जनालाई बुस्टर डोज दिइएको थियो । राष्ट्रिय जनगणना, २०७८ अनुसार दुई लाख छ हजार तीन सय १२ जनसंख्या रहेको खोटाङमा एक लाख सात हजार ४२ जनाले यसअघि नै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको सिग्देलले बताए । कोरोना भाइरसको संक्रमणका कारण खोटाङमा १५ जनाको मृत्यु भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक थान भेन्टिलेटर, सात एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामै रहेको सिग्देलले जानकारी दिए ।

महामारीको समयमा जिल्लामा स्थापना गरिएका अधिकांश कोभिड अस्पताल हाल बन्द छन् । हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी र साकेला गाउँपालिकामा यसअघि स्थापना गरिएका कोभिड अस्पताललाई सामान्य (अन्य अस्पताल सरह) परिवर्तन गरेर नियमित बिरामी उपचार गर्ने गरी सञ्चालन गरिएको छ । 

Comments

सम्बन्धित खवर