•  ८ मंसिर २०८१, शनिबार
  •  4:59:35 PM

११ घण्टापछि ‘हाइटेन्सन लाइनको पोल’ बाट ओर्लिए दिनेश

- बैशाख ३१, २०८० मा प्रकाशित



मोरङ । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन प्रशारण लाइनको पोलमा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् । सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेको बताइएको छ । अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए । दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।morang MzxloytruN

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास सफल भएको बताए । बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती थियो । उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका थिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए । अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिधै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए ।

Comments

सम्बन्धित खवर