
नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ
- बैशाख २, २०८० मा प्रकाशित

ताप्लेजुङ । नयाँ वर्षमा शुक्रबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो । सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै संख्यामा पर्यटक पुगेका थिए । सधैंका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताए ।
यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन् । कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन् ।
यो संख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । ‘भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै संख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो’, काफ्लेले भने ।
पाथीभरामा हरेक शनिबार र मङ्गलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ । शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन् । तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून संख्यामा आएको बताइएको छ । पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन् ।
पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ । देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ ।बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै संख्यामा मानिस पुगेका छन् । धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन् । मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो ।
बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए । मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवा युवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताए ।
कोभिड–१९ को संक्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो संख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए । ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो । मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए । मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन् ।
दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ । मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन् ।
पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो । पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिए । गुराँसे पोखरी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् । स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधारको विकास भएकाले र प्रचारप्रसार भएकाले ती ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो । स्थानीयले यस्ता ठाउँमा होटल पसल सञ्चालन गरेर पुग्ने पर्यटकलाई सहजता प्रदान गर्न थालेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments