
उदयपुरमा बाख्र चराउन गएका आमाहरु बेपत्ता हुँदा ४ नाबालकको विजोग
- चैत्र ३०, २०७९ मा प्रकाशित

उदयपुर । साता दिनयता दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि ४ नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । गत २२ गते बाख्रा चराउन जंगल गएदेखि सम्पर्कविहीन हुन पुगेका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका एकाघरका २ महिलाका ४ नाबालकको बेहाल भएको हो ।
दिउँसो २ बजे बाख्रा फुकाएर जंगल गएका २७ वर्षीया पूजा मगर राई र २६ वर्षीया अनिशा राई अहिलेसम्म घर नफर्की सम्पर्कविहीन हुन पुगेका छन् । पूजाका नाबालक ५ वर्षीय छोरा कुशल र १० वर्षे छोरी कृतिका बिहान बेलुका आमा खोज्दै रुन्छन् । ‘आमा खोइ भन्दै बिहानैदेखि छोरो रोएको रोएकै गर्छ’ पूजाका श्रीमान् तिलकबहादुर राईले भने ‘कति फकाउँदा पनि मान्दैन, खाना पनि खाँदैन, सुत्ने बेला पनि आमा आमा भनेर कराउँदै रुन्छ । छोरी भने अलि बुझ्ने भएकीले सम्झाउँदा मान्छे ।’
तिलकका जस्तै भाइ देवबहादुरका ६ वर्षे जुम्ल्याहा छोरीका आँखा आमा हिँडेदेखि ओभाएका छैनन् । घरीघरी खेलेजस्तो गर्ने तर, दिनभरि आमा खोज्दै रोएर बिताउने गर्दा हजुरबा हजुरआमालाई सबैभन्दा पिरलो भएको छ । तिलक र पूजाको बिहे भएको १० वर्ष पुग्यो, देव र अनिशाले ६ वर्षअघि बिहे गरेका हुन् । उनीहरु दुवै दाजुभाइले प्रेम विवाह गरेको तिलक बताउँछन् । ‘धेरै माया गरेर बिहे गरेको, बिहेपछि पनि राम्रै सम्बन्ध थियो तर, विदेश जान थालेपछि पारा बिग्रेछ’ श्रीमतीले छाडेर विक्षिप्त बनेका राईले पछुताउ गरे ‘धेरै माया गर्दा पनि नपच्दो रहेछ भन्ने लाग्दै छ । विदेश बस्दा समय समयमा पैसा पठाउने, नानीहरू राम्रो हुकाईबढाई र पढाई गराउन भन्दा हुन्छ भन्ने गर्थिन्, होइन रहेछ ।’
दुवै बुहारी एकै दिन घर छाडेर बेपत्ता भएपछि सबभन्दा समस्या घरकी हजुरआमालाई भएको छ । ५८ वर्षीया धनसरा राईलाई वृद्धावस्थामा ४ नातिनातिनाको एक्लो सहारा बन्नु परेको छ । बुहारीहरु नाबालक छोराछोरी छाडेर बेपत्ता भएपछि बुढेसकालमा धनसराको काँधमा ४ नानीहरू सम्हाल्ने जिम्मा आइलागेको छ । के कारणले किन बुहारीहरु हिँडे भन्ने भेउ पत्ता नपाए पनि नातिनातिनाहरू आफ्नै भएकाले उनीहरूको मायाले हेरचाह गर्न कर लागेको वृद्धा राईले बत्ताइन् । घरमा हजुरबा र तिलक रहे पनि बालबालिकालाई हजुर आमा नै प्यारो लाग्ने गरेको छ ।
आमाहरु ८ औं दिनदेखि हराई रहँदा हजुरआमा नै उनीहरुका लागि सहारा भइरहेकी छिन ्। सकिनसकी धनसराले ४ नाबालक नातिनातिनीलाई फकाई फुल्याई गरेर खुवाउने, सुताउने गर्दै आएकी छिन् । आमा खोजेर अचाक्ली गर्दा ‘तिमेरुका आमा बजार गईरछन्, बिस्कुट र चकलेट ल्याइदिन्छन्’ भनेर फकाउँदै सुताउने गरेको उनी बताउँछिन् । अहिले वार्षिक परीक्षा सकिएर रिजल्टको पखाईमा रहेकाले सदरमुकामस्थित सानो घरबाट परिवार सबै गाउँ गएका बेला दुवै आमा हिँडेका हुन् । वैशाख पहिलो सातादेखि पढाई सुरु हुने भए पछि पो के गरी धान्ने भन्ने सुर्ता धनसरालाई अहिलेदेखि लागेको छ ।
पूजा र अनिशा हिँडेको केही दिनपछि देवबहादुरको मोबाइलमा ‘हामी इन्डिया पुगिसक्यौँ, खोज्ने कोसिस नगर्नु’ भन्ने सन्देश (एसएमएस) आएको तिलकले बताए । तर, त्यसपछि सो नम्बर फोन नलाग्ने र सन्देश पनि नजाने गरी ‘ब्लक’ भएको छ । देवबहादुर भने ६ महिनाअघि नै काठमाडौंमा ज्याला मजदुरी गर्दै बसेका छन् । श्रीमती हराएको खबर पाएर काठमाठौंतिर आफन्तहरूसँग खोजतलास गर्दा उनले पनि पत्ता लगाउन नसकेको भाइलाई उद्धृत गर्दै तिलकले बताए ।
सँगै जंगल लगेका बाख्रा फर्के पनि उनीहरु नफर्केपछि रातभर खोजतलास गर्दा कतै पत्ता लागेन । भोलिपल्ट पनि खोजी जारी राख्दा घाँस दाउरा गर्न गएका स्थानीयले सोही दिन ३ बजेजस्तो समयमा स्थानीय लटङ खोलैखोला भएर पैदल यात्रामा गाईघाटतर्फ गएको प्रत्यक्ष देखेका थिए । तर, गाईघाट र आसपासका आफन्तजन र नातागोता र नजिक खोज तलास गर्दा कतै कसैले देखेको पत्ता लागेको छैन ।
तिलकले विदेशमा दुःख गरेर कमाएको पैसाले त्रियुगा नगरपालिका ३ फार्सेटमा थोरै जमिन किनेर भुईतले घर बनाएर श्रीमती र छोराछोरी त्यहीँ राखेर पढाउँदै आफू बिदेसिएका थिए । उनले कमाएर ल्याएको अढाईलाख रकम पनि पूजाले हिनामिना गरेको बताएका छन् । दाजुभाइका श्रीमती एकैचोटी हराएको भन्दै खोजी गर्न २३ गते तिलकले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । तर, प्रहरीबाट पनि तदारुक्ताका साथ खोजी कार्य नगरेको गुनासो उनको छ । ससाना नानी छाडेर हिँडेको, अहिलेसम्म सम्पर्कविहीन भएपछि पत्ता लगाउन नसकेर प्रहरी गुहारेको भन्दै उनले बालबच्चाको बिजोग हुनुका साथै उनीहरु कता बेपत्ता भए भन्ने ठेगान मात्र गाउन सके पनि केही सहज हुने बताए ।
त्रिनपा १५ का वडाध्यक्ष गणेश तिम्सिनाले एकाघरका दुई बुहारी एकै दिन हिँडेकोमा अझैसम्म सम्पर्कमा नआएकाले खोजी कार्य भइरहेको बताए । पीडित परिवारले प्रहरीमा हुलियासहित निवेदन दिएको र आफूहरूले पनि खोजी कार्यमा सहयोग गरिरहेको भए पनि हालसम्म कतै पत्ता लाग्न नसकेको वडाध्यक्ष तिम्सिनाले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments