डढेलो नियन्त्रणमा नआउँदा फुङ्लिङका आधा बस्ती जोखिममा
- चैत्र २८, २०७९ मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । चार दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।
सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, ‘डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।’
माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा ढडेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयवासीको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, ‘हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गर्यौ र मेची राजमार्गदेखि माथि जान दिएनौं । तर तल जङ्गलमा भने दमकल जान सकेन ।’ वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ ।
यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको जङ्गल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए । आगलागी भएको वनमा धेरै जसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए । मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए ।
वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र नभएर, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँका लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्याउने जैविक विविधता क्षेत्रमा लामो समय काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
राईका अनुसार ठूला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहे पनि तिनीहरूका बच्चा, स–साना घस्रने, झाडी, खर बारीजस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सिर्जना हुने गरेको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments