चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीकाे आग्रह
- चैत्र २६, २०७९ मा प्रकाशित
झापा । नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।
उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरूको सप्रमाण खण्डन गर्नुपर्नेमा व्यवसायीको जोड छ ।
‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक सङ्घद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तक्र्रियामा नेपाली व्यवसायीले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्यदूत पौडेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उहाँले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत चिया व्यवसायीलाई सुझाव दिनुभयो । “अब भारत बाहिर पनि बजार खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्नसक्छ ।”
चिया उत्पादक तथा व्यवसायीले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जिटुजी तहबाट पहल आवश्यक रहेको बताएका थिए । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताउनुभयो ।
“नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ, यसलाई रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “अर्कातिर नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकामा हामी चिन्तित भएका छौँ ।”
भारतले नेपालको चियामा ४० प्रतिशत भन्सार कर लगाएमा नेपाली चिया भारतमा नबिक्ने र प्रतिस्पर्धामा टिक्न नसक्ने उहाँको भनाइ थियो । अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जिटुजी छलफल चलाउनुपर्ने उहाँले सुझाव राख्नुभयो ।
चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीले कोलकातामा नमूना पु¥याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताउनुभयो । नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनुपर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनुपर्ने उहाँको धारणा थियो ।
नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागिपरेको जनाउँदै नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताउनुभयो ।
भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धरासायी हुने जोखिम औँल्याउँदै उहाँले यसमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी सङ्कटमा पर्ने चेतावनी दिनुभयो । भारतमा नेपाली चियाका बारेमा भइरहेका नकारात्मक प्रचार र भ्रमलाई चिर्न कोलकतामै कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले चियाको निर्यातमा गैरभन्सार अवरोध हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै नेपाली मिडियाले पनि चियाका बारेमा विश्वबजारमा फैलाइएका नकारात्मक भ्रम चिर्न सघाउनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चियाको निर्यातका लागि भारतीय निर्भरता कम गर्न र अन्य मुलुकमा पठाउनेबारेमा विकल्प खोज्न चिया व्यवसायीलाई सुझाउनुभयो । चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीतिअन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताउनुभयो ।
चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उहाँले बताउनुभयो । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उहाँको भनाइ थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments