अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
- चैत्र २४, २०७९ मा प्रकाशित
संखुवासभा । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो । छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचना समेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
१५ दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ । प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो । छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए ।
मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङ्कुटीबाट विद्युत गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आइरहेका छन् ।
अरुण तेस्रोे आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुनसकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत्गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन) ले गरिरहेको छ । आयोजनाको कुल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments