
राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति
- चैत्र १३, २०७९ मा प्रकाशित
पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।१४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्रयाक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ ।
सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ला तीन महिनामा निर्माण कम्पनीले थप सात प्रतिशत भौतिक प्रगति हासिल गरेको पाइएको उनले वताए ।
ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो । अहिले उक्त सडकको पाँचथर र इलाममा पर्ने राँके–रवि खण्डको २८ किलोमिटरमा सडकको ट्रयाक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ । यस्तै धनकुटामा पर्ने छ नम्बर बुधबारे बजार–भेडेटार खण्डमा ट्रयाक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य सुरु भएको डिभिजनका प्रमुख पोखरेलले वताए ।
सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको उनको भनाइ छ । ‘निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भने पनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौँ’, डिभिजन प्रमुख पोखरेलले भने, ‘ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण व्यवसायीको साथ लिए लक्ष्य पूरा हुनसक्ने देखिन्छ ।’
५० महिनाको अवधिमा यो सडक निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । सन् २०१८ नोभेम्बर १ मा तीन वर्ष अर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो । निर्धारित अवधिमा निर्माण कम्पनीले करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो । निर्माण कम्पनीले निर्माण कार्यका लागि पर्याप्त जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वय समेत हुन सकेको थिएन ।
भारत सरकारको सहुलीयतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ । यसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन । सामग्री खरिदसहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिए पनि खुकुलो व्यवस्था हुन सकेको छैन् ।
सडक क्षेत्रमा पर्ने रुख कटानी, निजी तथा सामुदायिक संरचना हटाउने, विद्युतका पोल सार्नेजस्ता कार्य दुई वर्षसम्म हुन नसक्दा सडक विस्तार कार्य अवरुद्ध जस्तै भएको थियो । यस्तै कोभिड–१९ को प्रकोपका कारण समेत निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । तेस्रो पटक म्याद थप गरी सन् २०२४ अगस्ट २८ सम्म पु¥याइएको डिभिजन प्रमुख पोखरेल बताउँछन् । ‘निर्माण कार्य अघि बढाउन अब कुनै समस्या नरहेकाले निर्धारित मितिमा काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ’, उनले भने, ‘तर हाम्रो आँकलन चाहिँ सो समयसम्ममा न्यूनतम ७० प्रतिशत काम हुनेछ ।’
इलाम, पाँचथर, धनकुटा, मोरङ जिल्लालाई समेट्ने यो सडक भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋण सहयोगमा निर्माण थालिएको थियो । भारतको एक्जिम बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरी कूल रु तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा सडक कालोपत्रको काम अघि बढाइएको थियो । सात मिटर चौडा, दुवैतर्फ एक÷एक मिटर नालीसहित नौ मिटरको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।
पहाडी र उच्च पहाडी क्षेत्र हुँदै निर्माण हुने यो सडकमा एउटा पनि पूल छैन । स–सानाबाहेक ठूला चट्टान तथा अवरोध समेत छैन तर निर्माण कम्पनीले समयमा काम नगरेपछि यहाँका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन् । हिलोका कारण विशेषत वर्षायामका समयमा यो सडक पूर्णत अवरुद्ध हुने गर्दछ । यसकारण बिरामीलाई अस्पताल पुर्याउनेदेखि खाद्यान्न ढुवानी जस्ता कार्य समेत प्रभावित हुने गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments