जयराम–हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या
- फाल्गुन १, २०७९ मा प्रकाशित
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो । साना-ठूलागरी दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो । जिल्लाको प्रमुख मार्ग जयराम–हलेसी सडकको कालोपत्र तीन वर्ष नपुग्दै ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेपछि अहिले सवारीसाधन गुड्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ ।
ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाइ ओटासिल कालोपत्र गरेकाले समस्या सिर्जना भएको स्थानीय बासिन्दाको आरोप छ । कम्तीमा दश वर्ष टिक्नुपर्ने ओटासिल कालोपत्र तीन वर्ष नपुग्दै उप्किएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका स्थानीय एवं नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव जीवन राई ‘सङ्गीन’ ले बताए ।
‘कालोपत्र उप्किएपछि जीर्ण बनेको सडकमा दैनिक हजारौँ यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन्’, उनले भने, ‘सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने, ठूलो दुर्घटना हुनसक्छ । समयमै सचेत हुन जरुरी छ । सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्यो ।’ ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्र गर्न लागेको भन्दै उसबेला सडक आसपासका स्थानीय बासिन्दाले सङ्घर्ष समितिसमेत गठन गरेर आन्दोलनसमेत गरेका थिए । स्थानीय बासिन्दाको आन्दोलनका बीच स्वच्छन्द–भगवती निर्माण सेवाले दुई वर्ष लगाएर जयराम–हलेसी सडक ओटासिल कालोपत्र गरेको हो ।
विशेष गरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच (ओटासिल कालोपत्र) उप्किएपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुहरुको गुनासो छ । ‘गाडीभित्र धुलो छिरेर सास फेर्नसमेत असहज हुन्छ । खाल्डाखुल्डीमा गाडी पस्दा टाउको ठोक्किँएर टुटुल्को उठ्छ’, एक यात्रीले भने, ‘लामो समयदेखि हामी यात्रुहरुले सास्ती भोग्दै आएका छौँ । यसको विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो दिएका छैनन् । यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ ।’
जयराम–हलेसी सडक ओटासिल कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आवतजात गर्ने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतका स्थानीय समेत व्यक्तिगत तथा रिजर्भ गाडी लिएर आउने गरेका छन् ।
जयरामदेखि हलेसीसम्मको सडकमा हजारौँ खाल्डाखुल्डी हुँदा त्यसमा परेर दर्जनौँ सवारी साधन बिग्रिसकेको खोटाङ यातायात प्रालि खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । ‘जयराम–हलेसी सडक वानवे (एकतर्फीमात्र गाडी चल्ने) अवस्थाको छ’, उनले भने, ‘वानवे सडकमा रहेको खाल्डाखुल्डी जोगाएर गुडाउँदा गुडाउँदै विपरीत दिशाबाट अर्को गाडी आउँछ । त्यसलाई साइट (बाटंो) दिँदा खाल्डोमा पस्छ । खाल्डोमा पसेको गाडी निकाल्दा क्षति हुने गरेको छ ।’
ओटासिल कालोपत्र उप्किएर दुर्घटनाग्रस्त बनेको जयराम–हलेसी सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा डिएस कन्ट्रक्सन प्रालि हेटौँडाले लिएको छ । विसं २०८० असार–२२ गतेभित्र सक्नेगरी विसं २०७७ जेठ–२८ गते रु ११ करोड ७८ लाख १३ हजार ७७९ मा ठेक्का लिएको उक्त सडकको काम अहिले ठप्प छ ।
जयराम–हलेसी सडक मर्मतको काम सुस्त देखिएपछि दुई महिनाअघि ठेकेदार कम्पनीलाई कार्यालयमा झिकाएर तत्काल बाँकी काम पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताए । ‘आज अनुगमन गर्दा निर्माणस्थलमा चार जनामात्रै कामदार देखियो’, उनले भने, ‘तत्कालै सडक विभागका डिभिजनल इन्जिनियरलाई फोन गरेर तपाईंहरु काम लगाउन सक्नुहुन्न भने लेखेर दिनुस् । म प्रहरी पठाएर कारबाहीको दायरामा ल्याउँछु भनेको छु । उहाँले आफै अनुगमनमा आएर काम लगाउने बताउनु भएको छ ।’
ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक ध्रुव कार्कीले जयराम–हलेसी सडक मर्मतको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । ‘यसअघि गरिएका कामको भुक्तानी रोकिएकाले काम बन्द गरिएको थियो’, उनले भने, ‘रोकिएको भुक्तानी पाइसकेका छौँ । अब तत्काल कामदार खटाएर बाँकी काम पूरा गछौँ ।’
खोटाङका जनताको समृद्धिसँग जोडिएको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड मर्मतको काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिइएको खोटाङ क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ ले बताएका छन् ।
छिमेकी जिल्ला भोजपुरका स्थानीयले समेत उपयोग गर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोटिर) सेखुवा–चखेवाभञ्ज्याङ अहिले कालोपत्रको काम भइरहेको छ । भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले ठेक्का लिएको उक्त सडक आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि विमल अधिकारीले प्रतिबद्धता जनाएका छन् ।
ठेकेदार कम्पनीले विसं २०७५ फागुन ३० भित्र सम्पन्न गर्नेगरी विसं २०७२ चैत २ गते रू ३२ करोडमा सडक विभागसमक्ष ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि चौँथो पटक थपिएको समयावधिसमेत गत जेठ मसान्तमा सकिएको उक्त सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
Comments