
चिया परीक्षणको झमेला कायमै : ल्याव नहुदा परिक्षणकालागि भारत पुर्याउनुपर्ने बाध्यता
- माघ २७, २०७९ मा प्रकाशित
झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन ।
स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्ता काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए ।
उनले मुलुकमै चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने– ‘भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या नभएको उनको भनाइ छ ।
नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी संघका अध्यक्ष हर्क तामाङको आरोप छ ।
भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । उनले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए ।
उनले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनी रु तीन अर्ब ८० करोड विदेशी मुद्राआर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments