
इलाममा एक गाउ देखि अर्काे गाउ पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्दै
- माघ २६, २०७९ मा प्रकाशित
इलाम । आफ्नै जिल्लाको अर्काे गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । इलामको भारतीय सीमा क्षेत्र पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण थालिएपछि स्थानीयलाई सहज हुने भएको हो ।
पशुपतिनगरका बासिन्दा आफ्नै जिल्लाको मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन बर्खामा निकै कठिन थियो । हिउँदमा पनि डेढ किलोमिटर पर्तिरको गाउँ पुग्न भारतीय भू–भाग घुमेर गाडीमा जाँदा करिब २ घन्टा लाग्थ्यो । अब पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक खुलेर कालोपत्रेसमेत गरिने भएपछि स्थानीयले सुविधा पाउने भएका हुन् ।
डिभिजन सडक कार्यालयका अनुसार १ हजार २ सय मिटरको यो सडक यही वर्ष कालोपत्रे हुँदैछ । कार्यालयका इन्जिनियर सञ्जय गौतमले कालोपत्रेसम्मको काम ३ करोड ७१ लाख रुपैयाँमा ठेक्का लागेको बताए । ‘यो सडक नेपाल–भारत सीमा क्षेत्रमै पर्ने भएकाले निकै महत्वपूर्ण पनि छ,’ उनले भने, ‘निर्माणको काम निर्धारित मितिमा सकिनेमा ढुक्क छौं ।’ गत चैत २० मा ठेक्का लागेको काम आउँदो असार २० मा सक्नेगरी सम्झौता भएको छ । इन्जिनियर गौतमले अहिलेसम्म ४० प्रतिशत काम सकिएको जानकारी दिए । भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएका छन् ।
सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘मानेभञ्ज्याङमा कुनै समस्या परे वा भेला–बैठक गर्नुपरे भारतीय भूमिबाट असहज हिसाबले आउ–जाउ गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यतिमात्र होइन, ‘नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो ।’
मेयर राईले सडक सुविधा नहुँदा स्थानीयको कृषिउपज बारीमै कुहिने समस्या रहेको र सडक खुलेपछि त्यो समस्यासमेत हट्ने बताए । ‘स्थानीय गाउँको तरकारी उता (भारत) लगेर बेच्न र भारतको खाद्यान्न (घरायसी उपभोगका लागि) ल्याउनसमेत भारतीय पक्षले बन्द गरिदिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामग्री जुटाउनै समस्या थियो,’ उनले भने, ‘अब चित्रे, टासीगाउँ, मानेभञ्ज्याङ र छघरेलगायत गाउँका बासिन्दाले कमसेकम खाद्यान्न ढुवानी गर्न र कृषिउपज विक्रीमा सुविधा पाउनेछन् ।’
आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर विक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच तनावसमेत भएको थियो । त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन । मेयर राईले पशुपतिनगरका सुरक्षाकर्मी ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको अवस्थामा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताए ।
सूर्याेदय नगरकै आग्रहमा संघीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरले जनाएको छ । अब आन्तरिक पर्यटकलाई आफ्नै भूू–भागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments