
ताप्लेजुङमा किविले बजार नपाउदा कृषक चिन्तित
- मंसिर १२, २०७९ मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थियो ।
उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।
‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौंला भन्ने छ’, उनले भने । उनले काठमाडाैंलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाउए । होलसेल प्रतिकिलो रु एक सय र फाट्टफुट्ट रु एक सय ५० का दरले बिक्री गरेको उनले बताए ।
उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए ।
यसरी बजार नपाउँदा उनीहरु मात्रै नभई जिल्लाका दर्जनौं किसान निरास छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । ‘एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’, राजकुमार गुरुङले भने ।
समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । ‘पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो’, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । उनले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर रु एक सय प्रतिकिलोका दरले बेचे । गाउँघरमा रु ७० देखि ८० का दरले बिक्री गरेको उनको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताए ।
किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषकको भनाइ छ ।
किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्न समेत आवश्यक रहेको उनीहरुको बुझाइ छ । जुुस, वाइन जस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।
धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बताइन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments