•  ९ मंसिर २०८१, आईतवार
  •  2:16:34 AM

सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम भन्छन् : पार्टी जोगाउन लाग्दा छोरा-नाति जोगाउन सकिनँ

- मंसिर १, २०७९ मा प्रकाशित



इटहरी । यतिबेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ ।

उनी जीवनभर पार्टीका लागि काम गर्दा पार्टी जोगिएको, तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो गर्छन् । ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिनँ । खै कसको लागि राजनीति भइरहेको छ ?’ उनले भने ।

सिटौलाले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन्, ‘चुनाव अगाडि नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षाबाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो,’ उनले भने । 

सिटौलाले थपे राणा शासन, पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखेको उल्लेख गर्दै  देशको मुहार परिवर्तन भएको देख्न नपाइने हो कि भन्ने चिन्ता रहेको बताए । ‘हुन त म आफै इतिहास हुन लागें, तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइनँ । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ ।

यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरा लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भएँ,’ उनले भने । उनको क्षेत्र मोरङ ३ मा नेपाली कांग्रेसका डा.सुनिल शर्मा, एमालेका भानुभक्त ढकाल, राप्रपाकी रेखा थापा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

Comments

सम्बन्धित खवर