
आज दरखाने दिन : संस्कृति भन्दा बिकृति बढि ,आगामि पिडिले के सिक्ने ?
- भाद्र १३, २०७९ मा प्रकाशित
इटहरी । नेपाली बृहत् शब्दकोशले दर शब्दको अर्थ तीजका अघिल्ला रात खाने, दह्रिलो विशेष भोजन भनेको छ । शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो ।
वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुवात भएको छ । संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउनुहुन्छ । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उहाँ सुनाउनुहुन्छ । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ ।
“अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भन्नुभयो ।विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ ।
होटल र पार्टीप्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ । तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टीप्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् ।
यसरी रिजर्भ भएका पार्टीप्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउनुहुन्छ धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उहाँले सुनाउनुभयो ।
“तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्ममात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भन्नुभयो ।
उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ ।सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ ।
यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउनुहुन्छ समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ ।अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् ।
विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments