
इटहरीमा भ्रष्टाचारविरुद्ध दुई दिने कार्टुन प्रदर्शनी
- भाद्र १, २०७९ मा प्रकाशित
इटहरी । भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउने उद्देश्यका साथ दुईदिन कार्टुन प्रदर्शनी गरिएको छ । सोमबार इटहरी स्थित इटहरी म्याट्रिक्स सांस्कृतिक केन्द्र भवनमा आयोजित प्रदर्शनीको उद्घाटन प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले गरे । उनले राजनीतिक रुपमा भ्रष्टाचार समाजका विविध तहमा जरा गाडेको जिकिर गर्दै जागरण ल्याउने लक्ष्य राखेर गरिएको प्रदर्शनीले सचेतना जगाउने विश्वास व्यक्त गरे ।
कार्टुनिस्ट क्लबको आयोजना तथा सिएमआरको सहकार्यमा भएको प्रदर्शनीमा सांसद संग्रौलाले आफूले राजनीतिमा लागेर पुस्तैनी सम्पत्ति सिध्याएको तर हालसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको जिकिर गरे । उनले भ्रष्टाचार विरोधी अभियान लिएर कार्टुनिस्ट क्लब इटहरी आएर प्रदर्शनी गरेकोमा विशेष धन्यवादसमेत दिए ।
उनले भने, ‘कलामार्फत गरिएको जागरण अभियानलाई सफल बनाउन सबै नागरिकले सहयोग गर्नुपर्दछ ।’ उनले भ्रष्टाचार समाजको दुर्गन्ध भएको बताउँदै यसलाई फ्याँक्न राजनीतिक दल, नागरिक समाज तथा सबै नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा ‘निसाना’ भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको छ ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उपमहानगरमा भ्रष्टाचार हुन नदिने जिकिर गरिन् । उनले आफूले जिन्दगीभरि भ्रष्टाचार नगर्ने जनाउँदै यदि कसैले आफ्नो पालिकाभित्र भ्रष्टाचार गरेका कानुनी कारबाही गर्ने बताइन् ।
कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट रविन सायमीले क्लबले भ्रष्टाचारविरुद्ध निसाना साँधिरहेको र यसमा अन्य पेशाकर्मीले समेत आ–आफ्नो क्षेत्रबाट धावा बोल्नुपर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि कलाकारसँगै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले कार्टुनमार्फत कलाकारले हरेक दिन पत्रपत्रिकामार्फत राजनीतिक दल, सत्ता तथा समाजका विभिन्न तह र तप्कामा रहेका विकृति विसंगतिलाई उजागर गर्दै आएको सुनाए । यस्तै, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्य राखेर अभियान थालिएको धारणा व्यक्त गरे ।
उनले भने, ‘कार्टुन कलाको माध्यमबाट समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । कार्टुनका माध्यमले राजनीति, समाज लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने कार्यमा कलाकारले सधैं कलामार्फत काम गर्दै आएका छन् । यसैको कडीका रुपमा कार्टुन प्रदर्शनी गरिएको हो ।’ खनालले भ्रष्टाचारलाई निर्मुल पार्न राजनीतिक नेतृत्वले दह्रो गरी खुट्टा टेक्नुपर्ने जनाउँदै देश र जनताप्रति उत्तरदायी हुने हो भने मात्रै यसले सार्थकता पाउन सक्ने विचार व्यक्त गरे ।
सिएमआरका अध्यक्ष तृष्णा आचार्यले समाजमा व्याप्त खराब पक्षलाई बाहिर ल्याइ जागरण ल्याउने लक्ष्य प्रदर्शनीको रहेको बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाउन कार्टुनमार्फत कलाकारले गरेको प्रयास निकै सराहनीय बन्न गएको विचार व्यक्त गरिन् । उनले भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनीको अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) की अध्यक्ष आचार्यले प्रदर्शनीमा राखिएको भ्रष्टाचार विरोधी कार्टुनबाट आफू निकै प्रभावित भएको र कतिपय नौलो विषयसमेत सिक्न पाएको बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट तथा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश समिति सचिव योगेश खपाङ्गीले अहिले नेपालका कतिपय मिडिया पेड मिडिया बनिसकेको र गोयबल्स शैलीमा झुट फैलाउने काम गरिरहेको बताए । उनले त्यस्ता क्रियाकलापले अन्ततः भ्रष्टाचारीलाई नै लाभ पुग्ने जिकिर गरे । उनले भने, ‘यस्तो अवस्थामा हालसम्म कार्टुन विधाले मात्र निर्धक्क सत्योद्घान गर्दै आएको छ ।’
त्यसैगरी इटहरी मेट्रिक्सका अध्यक्ष बिक्रम श्रीले भ्रष्टाचार विरोधी कार्टुन प्रदर्शनी प्रदेश १ मा पहिलो पटक भएको बताए । उनले यस्ता कार्यक्रमले समाजमा जनचेतना जगाउन र भ्रष्टाचारीलाई खबरदारी गर्न सफल हुने भनाइ राखे । क्लबका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणविरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’
महासचिव मिश्रले प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्याय क्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनको लागि राखिएको जानकारी दिए । उनले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउँदै आएको बताए ।सो अवसरमा क्लबले नेपालको पूर्वी क्षेत्रमा रहेर कार्टुन विधामा काम गरिरहेका कलाकार पवन राजवंशी, बिक्रम श्री र प्रमोद दत्तलाई सम्मान समेत गरेको थियो ।
क्लबले यसअघि बागमती प्रदेशको काठमाडाैं, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको मिश्रले जानकारी दिए । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेश खपाङ्गी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापासहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments