•  १० मंसिर २०८१, सोमबार
  •  10:34:09 AM

झापाको सताक्षी खोलामा दुई बालबालिकाको शव फेला, पौडी खेल्ने क्रममा डुबेको आशङ्का

- श्रावण २७, २०७९ मा प्रकाशित



झापा / झापाको सताक्षी खोलामा बिहीबार राति दुई जना बालबालिकाको शव फेला परेको छ । दुवै जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर भएको हुनसक्ने प्रहरीको अनुमान छ । झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार शिवसताक्षी नगरपालिका–७ स्थित सताक्षी खोलामा एक बालिका र एक जना बालकको शव फेला परेको हो ।

 पौडी खेल्ने क्रममा डुबेर शिवसताक्षी–९ आइतबारे बस्ने ११ वर्षीया एञ्जिला सुन्दास र अन्दाजी १२ वर्षीय सिकुम राईको मृत्यु भएको हुनसक्ने उनले बताए । दुवै जना पौडी खेल्न भनेर बिहीबार दिउँसो ४ बजेतिर घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राति अवेरसम्म घर नफर्किएपछि प्रहरीको सहयोगमा आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए ।डिएसपी पाठकका अनुसार खोजतलास गर्दै गर्दै जाँदा उनीहरुले लगाएको कपडा र चप्पल कन्काई सिँंचाई नहरको डिलमा राति ८ः१५ बजेतिर फेला परेको थियो ।

स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा प्रहरीले डुबेर मृत्यु भइरहेको अवस्थामा राति ९ः१५ बजेतिर दुवै जनाको शव फेला पारेको हो । बालबालिकाको शव कपडा र चप्पल भेटिएको स्थानबाट करिब चार किलोमिटर पश्चिमको सताक्षी खोलामा भेटिएको डिएसपी पाठकले बताए । पानीमा डुबेर मृत्यु भइरहेको अवस्थामा बालक र बालिकाको शव फेला परेको जानकारी उनले दिए । 

नहरमा कपडा र चप्पल भेटिनु तथा चार किलोमिटर परको खोलामा शव भेटिएपछि घटनालाई शङ्कास्पद मानिएको छ । दुवै शव पोस्टमार्टमको तयारी गरेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको पाठकले बताए । 

Comments

सम्बन्धित खवर