•  १० मंसिर २०८१, सोमबार
  •  10:31:28 PM

चतुर लक्षमणले यसरी बनाए प्रहरीलाइ उल्लु : बिराटनगरकाे काेशी अस्पतालबाटै फरार

- श्रावण २६, २०७९ मा प्रकाशित



इटहरी । सुरक्षामा खटिएका प्रहरीलाई छक्याएर विराटनगर महानगरपालिका–१० स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट एक जना कोरोना सङ्क्रमित प्रतिवादी फरार बनेका छन् । 

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास सुरक्षा एवम् निगरानीमा खटिएका प्रहरीलाई छलेर भागेका हुन् । उपचारका लागि भर्ना गर्दा दासको ठेगाना विराटनगर–१६ भनेर टिपाइएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । तर प्रहरीको रेकर्डमा भने ठेगाना विराटनगर–१८ उल्लेख छ । 

शौचालय जाने बहानामा दास राति १० बजेतिर फरार बनेको राजवंशीले बताए । दासलाई लेनदेन मुद्दामा अदालतले तीन वर्षअघि नै दोषी ठहर गरेको थियो । दोषी ठहर गर्दै २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाइएका उनी सजाय भुक्तान नगरिकन भागिरहेका थिए । 

तीन वर्षदेखि भागिरहेका उनलाई घरगाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते पक्राउ गर्यो । पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको थियो । त्यसअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो । 

कोरोना पुष्टि भएपछि दासलाई कारागार चलान गरिएन । उपचारका लागि साउन २० गते नै कोभिड अस्पताल भर्ना गरियो । फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा फरार बनेका हुन् । दासको निगरानी एवम् सुरक्षामा प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवलाई खटिएका थिए । 

जिल्ला प्रहरी कार्यालय मोरङले दासको सुरक्षा एवम् निगरानीमा खटिएका प्रहरीमाथि छानबिन थालेको छ । फरार रहेका सङ्क्रमित प्रतिवादी दासको खोजी तीव्र पारेर घटनाको छानबिन अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । ठाउँठाउँमा प्रहरी परिचालन गरेर शङ्कास्पद स्थानलाई निगरानीमा राख्दै खोजी व्यापक बनाइएको उनको भनाइ छ । 

कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले भने उपचाररत सङ्क्रमित भाग्नुमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गरेका छन् । ‘प्रहरीको निगरानीमा उपचार गराइरहेका सङ्क्रमित फरार बनेका हुन् । यसमा अस्पतालको कुनै कमजोरी छैन,’ उनले भने । 

राजवंशीका अनुसार अहिले अस्पतालमा छ जना सङ्क्रमितको उपचार भइरहेको छ । एक जना भाग्नुअघि सात जना सङ्क्रमित उपचाररत रहेको उनले बताए । 

Comments

सम्बन्धित खवर