•  १० मंसिर २०८१, सोमबार
  •  4:25:51 AM

माेरङ कारागारमा भुसकाे आगाे झै फैलीयाे काेराेना : संक्रमितकाे संख्या ५४ पुग्याे , सबै क्षेत्रमा मास्क अनिवार्य

- श्रावण १, २०७९ मा प्रकाशित



इटहरी । विराटनगरस्थित जिल्ला कारागार मोरङमा कोरोना भाइरसबाट सङ्क्रमित हुने कैदी बन्दीको सङ्ख्या ५४ पुगेको छ । पिसिआर परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पछिल्लो पटक ४८ जनाको परीक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो । उच्च ज्वरोका कारण बिरामी परेपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका १६ जनामा कोरोना पुष्टि भयो । त्यसपछि परीक्षण गरिएका थप तीन जनाको रिपोर्ट पनि पोजेटिभ आयो । 

प्रजिअ दाहालले सङ्क्रमित कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पतालमा भर्ना गरिने बताए । ‘कारागारभित्र कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य नै छ । 

यसैबिच कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आव्हान गर्ने तयारी गरिएको छ ।

कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए । पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अरु थुप्रै निर्णयहरु पनि गरेको छ । सङ्क्रमण फैलिएको कारागारका कैदी बन्दीको कोरोना परीक्षण गर्ने, सङ्क्रमितको उपचार कोसी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको थियो ।

Comments

सम्बन्धित खवर