•  ११ मंसिर २०८१, मंगलवार
  •  8:33:04 AM

कोदोको रक्सीलाइ ब्राण्डिङ गर्न झापामा समिति : “नेपालमा मात्र हैन बिश्वमा चिनाउछाै”

- असार २२, २०७९ मा प्रकाशित



इटहरी । परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सोमवार झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ ।प्रवद्र्धन समितिको संयोजकमा शर्मिला आङ्दाम्बे रहेकी छिन् । उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो ।

प्रवद्र्धन समितिको गठन प्रक्रिया झापाको चारआलीको चुम्लुङ भवनमा भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नुअघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आय–आर्जनको मुख्य थलो बन्ने कुरा प्रस्तुत गरिएको थियो ।

प्रवद्र्धन समितिका सदस्य शर्मिला सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताइन् ।सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न ल्याइएको प्रतिवेदनमाथि सुझावसहितको विचार राखेका थिए ।

छलफल कार्यक्रममा आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ, अग्निमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङ लगायतले कोदोको रक्सी र आय–आर्जनका विषयमा आ–आफ्नो बिचार राखेका थिए ।

प्रवद्र्धन समितिका प्रदेश १का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आय–आर्जनको रुपमा लैजाने गरी परियोजना पास गरिएको जानकारी गराएका थिए ।उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्वसामाजिक मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गाम लगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।

बृहत् सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतको जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।यसलाई उत्पादनमा जोड्न सके आर्थिक रुपमा मात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउन सक्ने कुरा बताइएको थियो ।

यतिबेला पहाडका पाखाहरु भने जस्तो मल, सिञ्चाइ र बीऊ नभएको हुँदा कोदो नासिँदै गएको अवस्था प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने संयोजक खजुमले जानकारी दिँदै खानाका लागि उत्तम र रक्सी निर्माणका लागि उपयोगी भएको बताए । कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगली जडीबुटीहरुको पनि संरक्षण गरिनुपर्ने संयोजक खजुमले बताए ।

Comments

सम्बन्धित खवर