•  १० मंसिर २०८१, सोमबार
  •  4:25:07 PM

रंगेलीमा रिसकाे झाेकमा श्रीमानले घरमा आगो लगाउदा भित्रै थुनिएकि श्रीमतीकाे जलेर मृत्यु : हत्या आशंकामा श्रीमानलाइ पक्राउ गरि अनुशन्धान

- असार १८, २०७९ मा प्रकाशित



इटहरी । मोरङको रङ्गेली नगरपालिका–१ बिर्ता बजारमा एक जना पुरुषले आफ्नै घरमा आगो लगाएर शुक्रबार राति पत्नीको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । पत्नीलाई घरभित्र थुनेर आगो  लगाउँदै हत्या गरेको आशङ्कामा २३ वर्षीय तिल्का मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार घरमा शङ्कास्पद तरिकाले आगो लागेको पाइएपछि गम्भीर ढङ्गले अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका तिल्काले पनि खाना खाने बेलामा राति पौने १० बजेतिर पत्नी ३० वर्षीया बबिता मण्डलसँग विवाद भएको बताएका छन् । पत्नीसँग विवाद हुनसाथ घरमा आगो लागेको प्रहरीलाई उनले बताएका हुन् । 

घटनास्थलदेखि केही परबाट तिल्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरमा आगो लागेर अरु निभाउन व्यस्त भएका बेला उनी भने भागेर केही पर पुगेको पाइएको छ । ‘आगोले घर सखाप बनाउँदै गर्दा तिल्का भने घटनस्थलबाट केही पर पुगेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘शङ्कास्पद गतिविधि देखाउन थालेपछि नियन्त्रणमा लिएर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ ।’ 

आगोले जलेर गम्भीर घाइते भएकी तिल्काकी पत्नी बबिताको उपचारका क्रममा आज (शनिबार) बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार आगोले जल्दै गरेको र बोल्न पनि नसक्ने अवस्थामा राति नै उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगर ल्याइएको थियो ।

बबिताको शरीरका अधिकांश भाग आगोले जलेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । तिल्काले पत्नीसँग विवाद भएको भने पनि प्रहरीले उनीहरुबीचको विवादको जड पत्ता लगाइसकेको छैन । डिएसपी श्रेष्ठले घरमा आगो आफै लागेको हो कि लगाइएको हो भन्ने बारेमा पनि खुल्न बाँकी रहेको जानकारी दिए । 

अहिले तिल्काकी पत्नी रहेकी बबिता पहिले उनकी भाउजू थिइन् । बबितासँग उनका दाजु जगदीश मल्लिकको बिहे भएको थियो । तर ७ वर्षअघि जगदीशको मृत्यु भयो । दाजुको मृत्यु भएपछि पत्नी स्वीकार गर्दै ५ वर्षअघि उनले भाउजू बबितासँग बिहे गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तिल्का र बबिताका सन्तान भएका थिएनन् । दुवै जनाले बाहिरफेरो सरसफाईको काम गर्दै आएको र घरमा पनि उनीहरु मात्रै बस्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिल्काका दाजुतर्फ पनि बबिताको सन्तान नभएको पाइएको छ । 

तिल्काको घरमा अचानक आगलागी भएको भन्ने जानकारी राति १० बजेतिर प्रहरीले पाएको हो । आगोले टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्रीबेरा गरेको घरसहित  घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर ध्वस्तको प्रहरीले जनाएको छ । घटनामा दुई लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो भने स्थानीयको सहयोगमा एक घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Comments

सम्बन्धित खवर