दमक बस्दै आएका भुटानी शरणार्थीहरुका नेता डा. भम्पा राईको निधन
- असार ५, २०७९ मा प्रकाशित
झापा । झापाको दमकमा बस्दै आएका भुटानी शरणार्थीहरुका नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आज (आइतबार) बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको आज बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले जानकारी दिइन् । राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुर्याएका थिए ।
३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका हुन् । राई पेटसम्बन्धी गम्भीर रोगबाट पीडित थिए ।
तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको तीन वटा शल्याक्रिया गरिएको थियो । पेटको शल्यक्रियापछि निकै लगेका राई पछिल्लो एक वर्ष हर्नियाबाट समेत पीडित थिए । निकै दुःख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गराएका थिए ।
राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।
२९ वर्षदेखि दमक-८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले निःशुल्क आवासको व्यवस्था गरिदिएको थियो । दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा तीन वटा कोठा र किचनसहितको फ्ल्याटको व्यवस्था गरिएको थियो । उक्त फ्ल्याटमा राई गत जेठ १३ देखि बस्न थालेका थिए ।
भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो । निःसन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए ।
सन् ९० को दशकमा दक्षिणी भुटानबाट नेपालीभाषी ल्होत्साम्पा लखेटिन थालेपछि तिनै नेपालीभाषीका पछि लागेर स्वेच्छिक रुपमा निर्वासनमा आएका चिकित्सक राई दक्षिणी भुटानको साम्चीमा जन्मे-हुर्केका थिए । सन् १९९१ मध्यदेखि उनी झापाको दमकबासी बनेका हुन् । दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी तथा स्थानीयका लागि निःशुल्क स्वास्थ्य सेवा दिँदै आएका राईका बुबाआमा, श्रीमती र बहिनी समेतको शरणार्थी हैसियतमा झापामै निधन भएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments