•  १० मंसिर २०८१, सोमबार
  •  8:45:20 PM

इटहरी १५ कि १६ वर्षिय अस्मिता १८ दिनदेखि बेपत्ता, काकाले पाती सेलाउने भन्दै काेशी सम्म लगेकाे खुल्याे

- जेष्ठ १८, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीबाट एक १६ वर्षीया किशोरी बेपत्ता भएकी छन् । गएको वैशाख ३० गतेदेखि बेपत्ता इटहरी-१५ की १६ वर्षीया अस्मिता चौधरीको अवस्था अझै अज्ञात छ ।

किशोरीलाई बेपत्ता बनाएको आरोपमा उनका काका लालु चौधरीसहित दुई जना पक्राउ परेका छन् । लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर नफर्किएकी बेपत्ता किशोरीका बुवा पशुपति चौधरीले बताएका छन् ।

‘काका लालु र विराटनगर घर भएका धामी दिनेश मण्डलले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन् । त्यो दिनदेखि छोरी घर फर्केकी छैन,’ बुवा पशुपतिले भने । कोशी नदीमा लैजाने भनिए पनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन् ।

प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो । झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिए । अस्मिता बेपत्ता हुनुमा झाँक्री काम गर्ने दिनेशकै मुख्य हात रहेको दाबी अभिभावकको छ ।

विराटनगरस्थित सनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

Comments

सम्बन्धित खवर