•  १० मंसिर २०८१, सोमबार
  •  11:44:39 PM

इटहरीको मेयरमा हेमकर्ण र उपमेयरमा केशवको अग्रता

- बैशाख ३१, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हालसम्म वडा नम्बर १ र २० को एक एक सय गरी कुल २०० मत गणना भइसकेको निर्वाचन कार्यालय इटहरीले जनाएको छ ।

पछिल्लो मतपरिणामअनुसार मेयर पदमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले एक सय ३४ मतका साथ अग्रता कायम राखेका छन् । उनले वडा नम्बर २० बाट ९४ मत ल्याएका छन् भने वडा नम्बर १ बाट ४० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगर अध्यक्षसमेत रहेका यामकुमार सुब्बा ७८ मतका साथ पौडेललाई पछ्याइरहेका छन् । यसैगरी, उपमेयरतर्फ पनि गठबन्धनले नै अग्रता कायम गरेको छ ।

गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्टले ९६ मतका साथ अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सङ्गीता चौधरी ८८ मतका साथ बिष्टलाई पछ्याइरहेकी छन् । केही स्वतन्त्र उम्मेदवारहरुसहित इटहरीको मेयर पदमा कुल १६ जना आकांक्षीहरु प्रतिस्पर्धामा रहेका छन् ।

हिजो सम्पन्न मतदानमा इटहरीका २० वटै वडाका जम्मा एक लाख चार हजार ६ सय २६ मतदातामध्ये ७३ हजार सात सय ३२ जनाले मतदान गरेका थिए । यो संख्या कुल मतदाता संख्याको ७०.४७ प्रतिशत हो । अर्थात् इटहरी उपमहानगरमा ७०.४७ प्रतिशत मत खसेको छ ।

Comments

सम्बन्धित खवर