
मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अलपत्र, १२ अर्ब रूपैयाँ जोखिममा
- बैशाख २७, २०७९ मा प्रकाशित
रूपन्देहीः मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अघि बढाउन स्थानीयवासीको हकभोगमा रहेको जग्गा फिर्ता दिन भूमिसम्बन्धी समस्या समाधान आयोगले दिएको सिफारिस अलपत्र परेको छ ।
तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगले मोतिपुर क्षेत्रका प्रभावित व्यक्तिहरूको तथ्यांक संकलन गरी करिब २५१ बिघामा तीन हजार ४१४ घरपरिवारको सिफारिसअनुसार समस्या समाधानका लागि केन्द्रीय आयोगलाई मन्त्रिपरिषदमा सिफारिस लैजान सुझाव दिएको थियो ।
करिब दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको शिलान्यास गर्ने क्रममा विवाद भएको थियो । त्यसलगत्तै आयोगले सरोकारवालासँग छलफल गरी समस्या समाधानका लागि सुझाव दिएको थियो । शिलान्यासको करिब सात महिनापछि फेरि सो क्षेत्रमा झडप भयो । झडपले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मीले हानेको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, व्यापार संघ, नेपाल उद्योग परिसंघ लगायत स्थानीय सरकोकारवालासँग छलफल गरी केन्द्रीय आयोगलाई सुझाव दिए पनि त्यसको सुनुवाइ नभएको आयोगका तत्कालीन अध्यक्ष बलबहादुर आचार्यले बताए ।
’हामीले मोतिपुरको समस्याको गहन अध्ययन गरी वास्तविक भूमिहीनको तथ्यांकसहित आयोगलाई सुझाव दिएका थियौँ । तर सरकारले सुनुवाइ नगर्दा नागरिकले ज्यान गुमाउनुप¥यो,’ आचार्यले भने ।
बुद्धनगरमा जिल्ला विकास समितिको स्वामित्वमा रहेको करिब दुई बिघा जग्गाको समेत निकास निकाल्ने गरी आयोगले पत्राचार गरेको आचार्यले बताए । आचार्य नेतृत्वको आयोगले बुटवलको विटौरी, कोदाले र बहाल विटौरी लगायतका एक हजार ५७१ निवेदनको अध्ययन र छानबिन गरिनाका साथै तिनाउ दानव कोरिडोरमा पर्ने बस्ती व्यवस्थापनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने गरी काम गरेको थियो ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेका कारण भूमिहीन र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान नहुँदा मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अघि बढ्न सकेको छैन ।
जिल्लाको औद्योगिकीकरण विकासमा महत्वपूर्ण मानिएको यो परियोजना करिब सात वर्षअघि घोषणा गरिएको हो । यो औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदनको काम भने पूरा भएको छ । औद्योगिक क्षेत्रको जग्गामा बसेका स्थानीयवासीले औद्योगिक क्षेत्र बने आफूहरू विस्थापित हुने भन्दै विरोध गरिरहेका छन् ।
रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकामा फैलिएको यो औद्योगिक क्षेत्र यस क्षेत्रकै ठूलो हो । बुटवल औद्योगिक क्षेत्र साँघुरो भएका कारण पर्याप्त उद्योग खुल्न नसकिरहेको अवस्थामा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।
औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रूपैयाँ छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार मोतिपुर औद्योगिक क्षेत्रमा २६२ वटा प्लट हुनेछन् । विद्युत्, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायत पूर्वाधारहरू बन्ने गुरुयोजनामा उल्लेख छ । -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments