•  १० मंसिर २०८१, सोमबार
  •  11:18:31 PM

काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या

- बैशाख २७, २०७९ मा प्रकाशित



काठमाडौँः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन काम पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र सोमबार फोहोर व्यवसथापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मंगलबार बिहानदेखि नियमित फोहोर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताइन् । यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर निस्किन्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडी फोहोर सिसडोल लैजाने गरिन्छ ।

पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि १४ दिनपछि शनिबारदेखि फोहोर व्यवस्थापनको काम सुरू भए पनि स्थानको अभावका कारण अहिले फेरि समस्या आएको हो ।

स्थानीयवासीसँगको छलफलमा सहमति नजुटेपछि कामपाको पहलमा तीन सय सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य शनिबारदेखि भएको थियो । पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयवासीले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौंका स्थानीय तहको फोहोर सडकमा नै थियो ।

पटकपटकको छलफलमा पनि स्थानीयवासीसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त संख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो ।

हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो ।

फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या सुरू भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागको भनाइ छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन ।

नियमित पानी पर्न सुरू भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ । -रासस

Comments

सम्बन्धित खवर