घोषणापत्रमा दलीय आश्वासनः भ्यू टावरलाई कलेज बनाउनेदेखि कर पुरै मिनाहासम्म
- बैशाख २१, २०७९ मा प्रकाशित
बुटवल: राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणापत्रमा मनलाग्दी आश्वासन बाँडिएको छ । घोषणापत्रमा उल्लेख गरिएका कतिपय विषय काल्पनिक र असम्भव छन् ।
यसैक्रममा नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यू टावरलाई कलेज बनाउने आश्वासन दिएको छ । समाजवादीबाट तिलोत्तमाको मेयरमा उम्मेदवारी दिएकाी आशाकुमारी चौधरीले तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने बताइन् । ‘हामीले हाम्रो घोषणापत्रमा भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने योजना अगाडि सारेका छौं,’ उनले भनिन् ।
शंकरनगर वनवाटिका पर्यटकीय क्षेत्र हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न र नगरपालिकालाई वैकल्पिक आम्दानीको स्रोत गराउने उद्देश्यले वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावरको निर्माण गरिएको थियो ।
भ्यू टावरमा कलेज सञ्चालन गर्न असम्भव हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘भ्यू टावर पर्यटकीय आकर्षणका लागि बनाइएको हो, तर कलेजका लागि छुट्टै मापदण्ड र पूर्वाधार हुनुपर्छ, प्राविधिक अध्ययनबिना गरिने यस्ता घोषणाको अर्थ छैन्,’ उनले भने ।
केही दिन अघिमात्रै नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा जारी गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पताल बनाउने बताएको थियो । त्यसको पनि सर्वत्र आलोचना भएपछि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणले यो विषय प्राविधिक अध्ययनको विषय भएको बताएका थिए ।
एकीकृत समाजवादीले ल्याएको घोषणपत्रमा तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा गर्ने उल्लेख छ । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले एकातिर कर नगरपालिकाको आम्दानीको स्रोत भएको भन्दै कर मिनाहाले नगरपालिकाको विकास कसरी हुन्छ भन्दै प्रश्न गरे । ‘करका दरहरू बढी भए पुनर्विचार गर्न सकिने अलग कुरा हो, तर पुरै मिनाहा गर्छु भन्ने कुरा घोषणापत्रमा लेख्नु काल्पनिक बाहेक केही होइन,’ उनले भने । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments