इटहरीको उपमेयरका दाबेदार केशव बिष्टको राजनीतिक पृष्ठभूमि
- बैशाख १८, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिकाका सत्ता गठबन्धनका चार दलले तालमेल गरेर मेयर, उपमेयरको उम्मेदवार सार्वजनिक गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल मेयरको प्रतिस्प्र्धामा उत्रिएका छन् भने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट उपमेयरको उम्मेदवार बनेका छन् ।
लामो समय बामपन्थी राजनीतिमा लागेका बिष्ट तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एमालेमै छँदा पनि माधव नेपाल पक्षधर भएकाले पनि एमालेमा विद्रोह गर्ने बेलामा समानान्तर कमिटीदेखि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत दुई पटकसम्म गरेको प्रतिनिधिसभा बिघटनको बिष्टले निरन्तर विरोध गरेका थिए ।
२०३५÷०३६ सालमा विद्यार्थी आन्दोलनबाट प्रभावित भएर जनता माध्यमिक विद्यालय इटहरीको प्रथम अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य भई विद्यार्थी राजनीतिमा होमिएका बिष्ट पञ्चायतविरोधी आन्दोलन गरेको आरोपमा २०३६ साल पुस १३ गते पक्राउ परी विद्यार्थीको जुलुस दवावको कारण नाबालक भएकाले रिहा भएका थिए ।
२०४२ सालमा केन्द्रीय तथ्याङ्क विभागमा जागिर खाएका बिष्ट त्यहाँ जागिरे रहँदा समेत कर्मचारी वृत्तमा रहेर बाम आन्दोलनमा उत्तिकै सक्रिय भए । तथ्याङ्क विभाग कर्मचारी सेल कमिटीको सचिव भई २०४६ साल सम्म क्रियाशील बिष्टले २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका थिए ।
बिष्ट प्ररायु संघको नगर कमिटीको अध्यक्षसमेत बनेका थिए । पछि २०५४ सालमा प्ररायु संघ नेपालको सुनसरी जिल्ला अध्यक्ष भए । अनि २०५९ मा केन्द्रीय सदस्य र २०६१ म प्ररायु संघको सचिवालय सदस्य समेत भएका थिए बिष्ट ।
२०५५ सालमा भने नेकपा एमालेको इटहरी नगर कमिटीको सचिवालय सदस्य भएका थिए । केशवको राजनीतिक रफ्तार निकै तीव्र भएको थियो । २०५८ सालमा नगर कमिटी सचिव, २०६१ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य र २०६३ मा जिल्ला कमिटीको सचिवालय सदस्य बनेका बिष्ट २०६९ मा नेकपा एमालेको राष्ट्रिय परिषद सदस्य र २०७६ मा प्रदेश कमिटी सदस्य बनेका थिए ।
२०५६ मा जिल्ला खेलकुद विकास समिति सुनसरीको उपाध्यक्ष भएका बिष्टले पछि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाए । ४ वर्षे कार्यकाल विवादरहित बिताएका केशवले देशभरी नै खेलकुदका क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेका थिए ।
इटहरीमा रंगशाला निर्माण गर्नको लागि केशवको ठूलो र लामो लडाइँ परेको रहेछ । हुन त भित्री सङ्घर्ष गर्नेलाई मात्रै थाहा हुन्छ । धेरै खेलहरु एउटै मैदान अर्थात् कम्पाउण्डमा खेल्न मिल्ने इटहरीको रंगशालाको लागि आफूले ३७ करोड रुपैयाँ निकासा गराएको बिष्ट बताउँछन् ।
आफूले इटहरी उपमहानगरको उपमेयरमा जीत हासिल गर्न सके इटहरीलाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउने बिष्ट इटहरीलाई खेलमय र पर्यटकीय हबको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउँछन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments