•  ५ जेष्ठ २०८१, शनिबार
  •  11:41:49 AM

पाँच दलीय गठबन्धनबाट इटहरीका उपमेयरमा केशव बिष्ट उठ्ने

- बैशाख १२, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव बिष्टले उमेद्वारी दिने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीका साझा उमेद्वारका रुपमा बिष्टको उमेद्वारी पर्ने निश्चित भएको हो । गठबन्धनको तर्फबाट सोमबार दिनको २ बजे निर्वाचन अधिकृतको कार्यालय इटहरीमा मनोनयन दर्ता गराइने बताइएको छ । गठबन्धनमा आबद्ध दलहरुबीच मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीलाई स्थान दिने सहमति भएअनुरुप बिष्टको उमेद्वारी उपमेयरका रुपमा पर्ने भएको हो ।

यसअघि उनको चर्चा मेयरको उमेद्वारका रुपमा चलेको थियो । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने उमेद्वार तय गरिसकेको छैन । कांग्रेसकै आन्तरिक किचलोका कारण वडासम्म नै गठबन्धन कायम राख्ने भनिएपनि वडाध्यक्ष र सदस्यमा अझै सहमति हुन सकेको छैन । निर्वाचन आयोगले निर्धारण गरेको मनोनयन दर्ताको अवधि आजै समाप्त हुनेछ ।

Comments