•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:44:01 PM

चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

- बैशाख ११, २०७९ मा प्रकाशित


चितवन: चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । 

भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुंगो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्त रुपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरूको टुंगो लगाइन्छ । भोलि १ बजे चौविसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उमेदवारी दिने भएकी छन् । उपमेयरमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ । 

कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकिकृत समाजवादी)ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुखको पदमा उमेदवार उठाउने छ । सात पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वडामध्ये कांग्रेसले मात्रै २० वडा पाउने सहमति भएको उनले बताए ।

महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् । -न्युज कारखाना

Comments