•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:52:52 AM

नेकपा एमालेले इटहरीको मेयरमा उठायो यामकुमार सुब्बालाई, उपमेयरमा सङ्गीता चौधरी

- बैशाख ११, २०७९ मा प्रकाशित


इटहरीः नेकपा एमालेले सुनसरीको इटहरी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट मेयर र उपमेयर पदका उमेद्वारहरुको टुङ्गोे लगाएको छ ।

हिजो शनिबार साँझ संघीय राजधानी काठमाडौँमा बसेको पार्टी केन्द्रीय कमिटिको बैठकले इटहरीको मेयरमा पार्टीका नगर अध्यक्ष यामकुमार सुब्बा र उपमेयरमा अखिल नेपाल महिला संघ इटहरीकी उपसचिव सङ्गीता चौधरीलाई उठाउने निर्णय गरेको हो । इटहरीको मेयर पदका लागि प्रदेश कमिटीले हालकी उपमेयर लक्ष्मि गौतम, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाई, तैयुब हुसेन र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको थियो । उपमेयरमा बिष्णु शर्मा नेपाल,गायत्री चौधरी , मिथिला पोख्रेल र रुक्मणि कोइरालाको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।

मेयरका उमेद्वार सुब्बा इटहरी एमालेमा टोल कमिटीबाट क्रमशः नगर कमिटी सदस्य, सचिव हुँदै अध्यक्ष भएका नेता हुन् । २०५७ सालमा तत्कालिन इटहरी १ वडाको तीन नम्बर टोल भनिने बीपी चौक एरियाको उनी टोल सचिव भए । वडा कमिटी सदस्य हुँदै वडा कमिटी सचिवबाट उनी नगर कमिटीमा प्रवेश गरेका थिए । २० वडा भएको इटहरीमा विगतमा १५० टोल कमिटी थिए । अहिले बढेर २८० टोल कमिटी भएको इटहरीमा एमालेका १६ वटा जनसंगठनहरु सक्रिय छन् ।

जनआन्दोलन २०६२÷६३ हुँदा उनी १४ दिन थुनामा परेका थिए । ताप्लेजुङ सान्थाक्राको तेल्लोकपामा जन्मेका सुब्बा हाल ६३ वर्षका छन् । यता, उपमेयरकी उमेद्वार चौधरी भने स्नातक उत्तीर्ण थारु महिलामध्ये एकमा पर्छिन् । उनी राजनीतिक रुपमा नेकपा (एमाले) को महिला संगठनमा सक्रिय छिन् । उनी अखिल नेपाल महिला संघ इटहरीको सहसचिव हुन् । यस्तै वडा नम्बर १५ को उनी इन्चार्ज पनि हुन् । चौधरीले जनता क्याम्पस इटहरीबाट जनसङ्ख्या विषयमा स्नातक गरेकी छिन् ।

Comments