•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:23 PM

माया घर नेपालले श्रीमद् भावगत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने, एक करोड दान संकलन गर्ने लक्ष्य

- फाल्गुन ८, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ मा सहयोगापेक्षी सडक मानवहरुलाई सुरक्षित आश्रय सेवा दिइरहेको परोपकारी सँस्था माया घर नेपालले श्रीमद् भावगत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

२०७८ फागुन २१ गतेदेखि २८ गते सम्म श्रीमद् भावगत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्न लागिएको सँस्थाकी सँस्थापक सचिव शुभद्रा प्याकुरेलले जानकारी दिइन् । विभिन्न राजनैतिक दल, संघसँस्था, उद्योगी, व्यवसायी, सञ्चार तथा शैक्षिक क्षेत्रमा सेवारत महिलाहरुको अगुवाइमा सुरु भएको माया घर नेपाललाई थप व्यवस्थित बनाउन पहिलो चरणमा एक करोड रुपैयाँ संकलन गरी सो रकमको व्याजबाट आश्रितहरुको सेवा गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको उनको भनाइ छ ।

इटहरी २ आयुर्वेदिक टोलमा चार वर्षअघि श्रीमद् भावगत पुराण लगाएर संकलन भएको रकमबाट सुरुवात भएको संस्थाले आफ्नै नाममा साढे ६ कठ्ठा जग्गासमेत रहेको र संस्थामा दीर्घकालिन रुपमा व्यवस्थापन गर्न लगभग ४ करोड रुपैयाँको भवन स्टिमेटसमेत गरिएको महायज्ञ आयोजनाका सम्बन्धमा जानकारी दिन इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा सँस्थाकी अध्यक्ष राधिका दासीले जानकारी दिइन् ।

उनका अनुसार मानसिक रोगी तथा असहाय हिंसापीडित एवम् सडक मानवहरुको उद्धार तथा संरक्षण गर्दै आएको माया घर नेपालमा हाल ११५ जनाले आश्रय पाएका छन् । अध्यक्ष दासीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सँस्थाकी सचिव प्याकुरेल, कोषाध्यक्ष अञ्जु अधिकारी, इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्र खड्कालगायत विभिन्न सञ्चाारमाध्यममा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Comments