•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:24:36 PM

मुख्यमन्त्री राईद्वारा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

- फाल्गुन ७, २०७८ मा प्रकाशित


इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ का अवसरमा शुभकामना दिदै सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढ्न आह्वान गरेका छन् । त्यसका लागि सबै पक्ष मन, वचन, कर्मले इमान्दारिताका साथ लागी पर्न उनले शुभकामना सन्देशमा मुख्यमन्त्री राईले भनेका छन् ।

जनताको बलिदानीपूर्ण संघर्षमार्फत जहानियाँ निरंकुश राणा शासनको अन्त्य भई लोकतन्त्रको प्रक्रियामा अघि बढेको आज ‘फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस’को ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति उनले हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् । यस अवसरमा जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट समेत गरेका छन् ।

मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासन अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्व पनि छ । आजको दिनलाई नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्नेतर्फ मार्ग खुलेको दिनको रुपमा पनि स्मरण गरिन्छ । बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले यसको खास महत्व रहेको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर नेपाल अहिले संघीय गणतन्त्र नेपाल भएको छ । नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई संघर्षमा समाहित गरेका छन् । राणा शासन सुरु हुनुअघिदेखि राणा शासनविरुद्धका आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, पछिल्लो गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौं नेपाली जनताले ज्यान गुमाएका छन्, सहादत प्राप्त गरेका छन् । ती महान सहिदहरूको त्याग र बलिदानको परिणामस्वरुप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, संघीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनको सन्देशमा भनिएको छ–‘आजको महत्वपूर्ण घडीमा प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एव समावेशी गराउन र सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढौं । मन, वचन, कर्मले इमान्दारिताका साथ लागी परौं भन्ने आह्वान पनि गर्न चाहान्छु ।’

Comments