•  ६ जेष्ठ २०८१, आईतवार
  •  6:01:19 AM

मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग

- पुष ५, २०८० मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनको बर्खास्तीको माग गरेका हुन् ।

‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्छ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यान जाओस् ।’

उनले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् । बुधबार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’ भनेका थिए ।

उनले विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको त्यसको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै ‘संसारले मान्ने अनि हामीले नमान्ने’ भनेर प्रश्न पनि गरेका थिए । मन्त्री किराँतीको यो अभिव्यक्ति अहिले विवादित बनेको छ ।

Comments