•  ६ जेष्ठ २०८१, आईतवार
  •  6:01:09 AM

मध्यपहाडी यात्रा सकेको एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रामा निस्किने

- पुष ३, २०८० मा प्रकाशित


माेरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताएका छन् । मोरङको विराटनगरमा आज (मंगलबार) पत्रकार सम्मेलनमा बोल्दै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको स्पष्ट पारेका हुन् ।

‘कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधको स्वर सुनियो । तर, उहाँहरुले एमालेसँग गुनासो गर्न आवश्यक छैन । नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भईजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन,’ उनले भने, ‘एमालेले जनतामा भनेको एजेण्डा नै लागू गरेको हो । जे भएको छ कोशीमा जायज छ ।’

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै जनताको तहमा त्यो खालको विरोध नसुनिएको र पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसावले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताए । मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई कोशी प्रदेशमा पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको पोखरेलले बताए ।

महासचिव पोखरेलले कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको पनि बताए । उनले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गरे । पहिचान पक्षधरले एमालेलाई यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेण्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दूरी बढाएको महासचिव पोखरेलको भनाइ छ ।

यस्तै महाससचिव पोखरेलले पार्टीले मध्यपहाडीपछि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौँ । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने पछि तोकिने उनले बताए ।

महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए । यात्राका क्रममा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको महासचिव पोखरेलको भनाइ थियो । एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित संकल्प यात्रा गरेको थियो ।

Comments