•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:05:58 PM

नायीका स्वेता खडकाले बसाएकाे माझि बस्ती संकटमा , तत्काल लिलामी नगर्न अदालतकाे आदेश

- कार्तिक १६, २०८० मा प्रकाशित


काठमाडौँ । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको मंगलबारको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।

श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएको र घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत रिट दायर गरेका थिए । उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझी समेतले अदालतमा रिट दायर गरेका थिए ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको–११ स्थित झ्याडीमा रहेको नमुना माझी बस्तीमा यो वर्ष दशैं आएन ।

दशैं रमाइलो बनाउन आवश्यक खाद्यन्न, मरमसला र लत्ताकपडा जोहो गर्नभन्दा पनि यो बस्तीका माझी परिवारलाई आफ्नो घरबस्ती कसरी जोगाउने भन्ने चिन्ताले चिमोटिरह्यो । जेनतेन दशैं त सकियो तर, यहाँका माझीको ‘दशा’ भने सकिएको छैन । दसैँ लाग्दै गर्दा बस्ती नै लिलामी हुने गरी बैंकले सूचना प्रकाशित गरेपछि उनीहरू त्रसित छन् । दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका माझी समुदायलाई बैंकको रकम बुझाएर ऋण सकार्नु फलामको चिउरा चपाउनु जस्तै छ । कुनै बेला आहतमा राहत बनेर मल्हम लगाउन पुगेर भगवानझैं बनेका पात्रप्रति यहाँका माझीको हेर्ने दृष्टिकोण बदलिएको छ ।

२०७२ सालको भूकम्पपछि घरबारविहीन बनेका माझी बस्तीमा मल्हम लगाउन पुगेकी अभिनेत्री श्वेता खड्काकै कारण नमुना बस्तीमा अहिले आपत्ति आइलागेको छ । नमुना बस्तीमा चिटिक्कका ५३ घर ठडिएका छन् । तर ती घर निर्माणका क्रममा बैंकबाट लिइएको ऋण रकम खड्काको श्वेताश्री फाउन्डेसनले नतिरेपछि धितो लिलामी प्रक्रिया अगाडि बढेको छ । लक्ष्मी सनराइज बैंकले सुरु गरेको लिलामी प्रक्रियाले सिंगो बस्ती त्रासमा छ ।

भूकम्पपीडितलाई सरकारले प्रतिघर तीन लाख रुपैयाँ दिने घोषणा गर्‍यो । पुनर्निर्माण प्राधिकरणमार्फत घर बनाउनेले तीन किस्ता गरी रकम पाउने भयो । तर सरकारले तोकेको मापदण्डअनुसार ३ लाखमा घर बन्न सक्ने अवस्था स्थानीयले त्यति बेला देखेनन् । घर कसरी सकार्ने ? भनेर स्थानीय चिन्तामा रहेको बेला माझी बस्तीमा अभिनेत्री (नायिका) श्वेता राहतको पोको बोकेर पुगिन् । स्थानीयलाई त्यति बेला श्वेता आइपुग्नु ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो ।

‘पुनर्निमार्णले दिने तीन लाख रुपैयाँले जे जस्तो घर निर्माण हुन्छ सोही अनुसारको घर निर्माण गर्ने मनसायमा बनाइरहेको अवस्थामा श्वेता खड्का तपाईहरूको घर मेरो फाउन्डेसनले बनाइदिन्छ भनेर आउनु भयो । देशको चर्चित नायिकाको विश्वासमा परें,’ माझी बस्तीका एक बासिन्दा भन्छन् ।

माझी बस्तीमा उनले एकीकृत बस्ती बनाउन थालेपछि विभिन्न दाताहरूबाट सहयोग आएको समाचारहरु पनि आयो । तर अहिले ती घरजग्गाको ऋण नै नसल्टेको भन्दै बैंकले लिलामी प्रक्रिया थालेपछि माझी समुदाय अदालतको ढोकामा पुगेका छन् । रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौताअनुसार ऋण प्रवाह भएको थियो । धितो भने माझी समुदायकै जग्गा राखिएको थियो । प्रत्येक घरधुरीलाई चार लाख रुपैयाँ ऋण दिन श्वेताश्री फाउन्डेसनले सिफारिस गरेको थियो ।

खड्काको उक्त फाउन्डेसनले खुला होमस्टेको अवधारणा भन्दै उक्त एकीकृत बस्ती निर्माण गरेको थियो । २०७३ फागुनबाट बस्ती निर्माण थालेको थियो । बस्ती निर्माणको लागि फाउन्डेसनलाई विदेशबाट केही नेपालीहरूले सहयोग पनि जुटाए । ढाका क्लब, व्यापारी राजेन्द्र खेतान, लक्ष्मी तामाङ, हरि भण्डारीलगायत धेरैले ठूलो रकम सहयोग गरेका थिए । सरकार र सहयोगबाट आएको रकमबाट पनि नपुगेको भन्दै फाउन्डेसनले बैंकबाट ऋण लिने प्रक्रियामा पुगेको थियो ।

तीन आना जग्गामा तीन कोठा र एक शौचालयको घर निर्माण भएको थियाे । काम गर्ने क्रममा सरकारले दिएको तीन लाख रुपैयाँ नपुगेपछि फाउन्डेसनले व्यक्तिको नाममा रहेको जग्गा धितो राखेर प्रत्येक घरको लागि ४ लाख रुपैयाँका दरले २ करोडभन्दा बढी रुपैयाँ ऋण दिएको थियो । तर कति खर्चमा घर बन्यो ? दाताले कति सहयोग गरे ? भन्ने फाउन्डेसनले पारदर्शिता नअपनाएको आरोप छ ।

ऋणको साँवा र ब्याज फाउन्डेसनले तिर्ने शर्त थियो । एक घरले मासिक ७ हजार रुपैयाँ बुझाउनु पर्ने थियो । तर बैंकमा न त घरधुरीले न त फाउन्डेसनले नै पैसा तिर्‍यो । त्यसपछि बैंकलडे असोज ४ गते ३५ दिने लिलामीको सूचना निकालेको थियो । माझी बस्तीकालाई राम्रो घरमा बस्ने आशले अहिले आफ्नो घरबारी नै बनिबास होला कि भन्ने माझी बस्तीमा त्रास छ ।

यता श्वेताश्री फाउन्डेसनले उनीहरूको ऋण तिर्ने आश्वासन त दिएको छ तर रकम तिरेको छैन । २०७५ असार २६ गते फाउन्डेसन र बस्तीका मानिसबीच तोकिएको समयमा किस्ता र बाँकी बक्यौता कर्जा तिर्ने दायित्व दोस्रो पक्ष (श्वेताश्री फाउन्डेसन) को हुने भनिएको छ । फाउन्डेसनले ऋण तिर्न नसके आफूहरू घरजग्गा छोडेर सुकुम्वासी भन्ने अवस्था रहेको माझीहरू बताउँछन् ।

‘उहाँले फाउन्डेसन बनाएर सहयोग गर्ने भन्नु भयो । अहिले यस्तो हालतमा आइपुगेका छौं,’ माझी बस्तीका मिलन माझीले भने, ‘राम्रो घरमा बस्न पाइने आशले बनिबास बनाउने डर भो ।’ नायिका श्वेता खड्का सर्वत्र नाम चलेकी कलाकार हुन् । उनले थोरै चलचित्रमा काम गरे पनि उनको काम सफल छ । पछिल्ला वर्षहरूमा उनी चलचित्र क्षेत्रमा सक्रिय छैनन् । उनी कलाकार मात्र होइनन् एक व्यावसायी पनि हुन् ।

इन्जिनियरिङ, आयात निर्यातसँगै कफी सपसम्मको व्यवसायमा उनी संलग्न छिन् । उनले अहिले कमलादीको राइजिङ मल र बालुवाटारमा हिमालयन जाभा कफीसप सञ्चालन गरिरहेकी छिन् । माझी बस्ती बसाएर चर्चा कमाएकी श्वेता अहिले त्यही बस्तीको ऋणका कारणले आलोचित बनिरहेकी छन् । झन् बस्तीको ऋण नै नतिरेपछि उनीसँगै उनको फाउन्डेसनमाथि पनि प्रश्न उठ्न थालेको छ ।

Comments