•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:33:33 PM

वरिष्ठ गायिका दिलमाया खातीको निधन

- आश्विन १७, २०८० मा प्रकाशित


इटहरी । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । अहिले आठ दशकको उमेर पार गरिसक्नु भएकी ‘नाइटिङ्गेल अफ हिमालय’–को रूपमा जानिने सुश्री दिलमाया खाती अहिले उमेरले पनि थकित र बिरामी अवस्थामा थिइन् । नेपाली गीत–सङ्गीतको स्वर्ण काल मानिएको साठीको दशकको एक उज्ज्वल नक्षत्र हुन् उनी ।

दार्जिलिङको घूम पहाडमा विसं १९९६ को श्रावण २३ गते माता अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये सबैभन्दा कान्छी दिलमाया खातीले पाँच वर्षको उमेरदेखि गाउन सुरु गरेकी थिइन् । उनकै भनाइअनुसार गायन उनको अभिरुचि मात्र थियो । सानो छँदा रेडियोमा बजेका गीतहरू नै सुनेर गुनगुनाउने गर्थिन् । सुरु–सुरुमा हिन्दी गीत नै गाउँथिन् । सुमधुर स्वर उनको ईश्वरीय वरदान नै थियो ।

१० वर्षको उमेरदेखि विस्तारै–विस्तारै आफ्नो परिवेश र छेउछाउमा भएका विभिन्न सांस्कृतिक कार्यक्रमतिर बोलावट हुँदा त्यस्ता कार्यक्रमतिर भाग लिएर गाउँथिन् । यसरी नै चर्चित बन्दै गइन् । सौखले मात्र गाउने तर रेकर्ड गर्ने र नाम कमाउँला भन्ने बिचार भने उनमा पटक्कै थिएन । दार्जिलिङमा मात्र होइन नेपालसम्मै उनको गायनको परिचय पुगिसकेको थियो ।

दिलमाया खाती पहिलो पटक सन् १९६२ मा काठमाडौ आएकी थिइन् । काठमाडौ आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनले नेपाली गीत गाउन थालिन् ।

अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेकी थिइन् । संगीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छिन् । यस्तै, युवा पुस्तामा गायक शैलेश सिंहसँग पनि उनले सहकार्य गरेकी छन् । नारायण गोपालसँग दिलमायाको भेट सन् १९७२ तिर दार्जिलिङमै भएको थियो ।

नारायण गोपालको आग्रहमा उनले बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा बोलको गीत गाएकी थिइन् । जुन अहिले पनि निकै लोकप्रिय छ । खातीले ‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे है बुझे है यो मेरो जोवन’, लगायत थुप्रै नेपाली कालजयी गीतहरु गाएकी छिन् । उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको साहित्यकार प्रकाश सायमीले जानकारी दिएका छन् ।

Comments