•  ५ जेष्ठ २०८१, शनिबार
  •  5:54:40 PM

वागमतीसहित पाँच प्रदेशमा भारी बर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

- श्रावण ११, २०८० मा प्रकाशित


 नेपालमा अहिले मनसुनी प्रभाव रहेको छ । केही प्रदेशमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । बिहानैदेखि केही भू–भागमा भारी वर्षा भइरहेको छ ।

वागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका बूढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखले जनाएको छ ।

बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

Comments