•  ६ जेष्ठ २०८१, आईतवार
  •  3:38:58 PM

पहिचानको आन्दोलनले विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

- चैत्र १४, २०७९ मा प्रकाशित


 इटहरी । पहिचान पक्षधरको आन्दोलनका कारण मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेष चोक नजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा बर्साएका छन् । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका हुन् ।आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि पाँच राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको छ ।

 कोशी प्रदेश खारेजीको माग राख्दै पहिचान पक्षधरले आज (मंगलबार) विराटनगरमा जनप्रदर्शन गरेका हुन् । यस्तै कोशी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरूले उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट समेत गरेका छन् । पहिचानवादीले कोशी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ । उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन् । आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । आन्दोलनकारी उनलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

Comments