•  ६ जेष्ठ २०८१, आईतवार
  •  1:34:54 PM

प्रदेश १ मा छ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

- पुष ११, २०७९ मा प्रकाशित


इटहरी । प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिनुहुने भएको छ । प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने हुनुभएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले समेत मातृभाषामा शपथ लिनुहुने भएको छ । आङ्बो नेकपा (माओवादी केन्द्र) र लङ्वा नेकपा (एकीकृत समाजवादी) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यस्तै ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले समेत मातृभाषामा शपथ लिने हुनुभएको छ ।

यता सुनसरी ३ बाट निर्वाचित कांग्रेसकी सुनिता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीबाहेकका सदस्यले लिम्बू भाषामा शपथ लिनुहुनेछ भने चौधरीले थारु भाषामा शपथ लिनुहुनेछ ।

मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृ भाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो । प्रदेश १ का सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने तय भएको छ ।

Comments