•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:30:53 PM

ज्ञानेन्द्र कार्की : भाेजपुरले पत्याएन ,सुनसरीमा आशिर्वाद पाए

- मंसिर १७, २०७९ मा प्रकाशित


इटहरी । भोजपुरमा तीनपटक चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र ताकेर आएका ज्ञानेन्द्र वहादुर कार्कीलाई यो क्षेत्र फापेको छ ।

२०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए । २०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यति बेला भोजपुरमा दुई वटा निर्वाचन क्षेत्र थिए ।

पहिलो संविधान सभाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यस बेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यस बेला कार्की माओवादीका पदम राईसँग २ हजार २१४ मतको फराकिलो अन्तरले चुनाव हारेका थिए । २०७० को चुनाव भने उनले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन् र समानुपातिकतर्फको सांसद भए ।

भोजपुरमा हारको ह्याट्रिक भएपछि कार्कीको आँखा सुनसरी ४ मा पर्यो । तेस्रो प्रयासमा पनि चुनाव जित्न नसकेपछि उनले गिरिजाप्रसाद कोइरालाले चुनाव जित्ने गरेको क्षेत्र सुनसरी– ४ मा आँखा लगाएका थिए । उनले आँखा लगाएको क्षेत्रले दोस्रो पटक प्रत्यक्ष चुनाव जितेर संसदमा छिर्ने बाटो खुल्ला गरिदिएको छ । उनले सुनसरी ४ बाट लगातार दोस्रोपटक निर्वाचन जितेका छन ।

क्षेत्र नम्बर ४ मा भने ज्ञानेन्द्रले झिनो मतान्तरले कांग्रेसको इज्जत जोगाइदिएका छन् । उनी ११२ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभातर्फ सुनसरीबाट चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला व्यक्ति बनेका छन् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो । भागबन्डा हुँदा एक क्षेत्रमा माओवादीले टिकट पाएको थियो ।
क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको भागबन्डामा माओवादीले टिकट पाएको थियो । त्यहाँ एमालेको समर्थनमा जनता समाजवादी (जसपा)का अशोक राई निर्वाचित भए । क्षेत्र नम्बर २ मा कांग्रेसका सिताराम मेहताले टिकट पाएका थिए । उनी पनि एमालेका भीम आचार्यसँग पराजित बने । क्षेत्र नम्बर ३ मा ३१ वर्षदेखिको विजयकुमार गच्छदारको विरासत तोड्दै एमालेकी भगवती चौधरी विजयी बनिन् ।

मन्त्री कार्की २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी–४ बाटै विजय भएका थिए । अघिल्लो चुनावमा कांग्रेसले ३ र वाम गठबन्धनले एक सिटमा जीत हात पारेका थिए । क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट एमाले उम्मेदवार जयकुमार राई विजयी थिए भने २ बाट कांग्रेसका सीताराम महतो, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए ।

तर, यस पटक वाम–लोकतान्त्रिक गठबन्धन हुँदा सुनसरीमा एमालेको हाबी भयो । कांग्रेसको १४ महाधिवेशनको असर परेका कारण चुनावमा सुनसरीमा कांग्रेसले पराजय भोग्नु परेको कांग्रेसकै नेताहरू बताउँछन् । प्रदेश १ मा संस्थापन पक्षका पिलर मानिएका कार्कीले सुनसरीमा शेरबहादुर देउवाको समेत इज्जत जोगाइदिएका छन् । सुनसरीका तीन वटै क्षेत्रमा देउवा पक्षका नेताले प्रतिनिधि सभामा टिकट पाएका थिए ।

२०७४ सालको चुनावमा कांग्रेस मोरङको परिणामजस्तै सुनसरीमा देखिएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा त्यस चुनावमा एक क्षेत्र मात्रै चुनाव जितेर कांग्रेसको साख मिनेन्द्र रिजालले जोगाएका थिए । अहिले सुनसरीमा कांग्रेसको साख जोगाउने ज्ञानेन्द्र एक्ला हुन् ।

Comments