•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:05:30 AM

अनुगमन टोली पुग्दा भागे काठमाडाैंका व्यापारी, उपमेयर सुनीता डंगोल भन्छिन् : गलत गर्नेलाई जरववाना र कार्वाहि दुइटै हुन्छ

- आश्विन १३, २०७९ मा प्रकाशित


काठमाडाैं । दसैँ नजिकिएसँगै काठमाडौँ महानगरले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा हिजोबाट सुरु चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको छ। महानगरपालिकाले बुधबार कालिमाटीस्थित फलफूल तथा तरकारी बजारलगायतको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ।

उपेमयर डंगोलले अनुगमनका क्रममा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बेचिरहेको भेटिएमा हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गरिन्। उनले अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिने बताएकी छन्। उपमेयर डंगोलले कालिमाटी र कुलेश्वर क्षेत्रमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको सामग्री जफत गरेको जानकारी दिइन्।

‘केही खाद्य पसलका सामान उत्पादन गर्ने कम्पनी र खान योग्य भनी प्रमाणित गरेको प्रमाणित नम्बर समेत प्रष्ट नभएको पाइयो। उनीहरुलाई दुई दिन भित्र उत्पादन कहाँ भएको? खानयोग्य छ कि छैन सबै प्रष्ट पार्न निर्देशन दिइएको छ’, उनले भनिन्।दुई दिनभित्र त्यो प्रष्ट नभए कारवाही गर्ने चेतावनी दिइएको उनले बताइन्।  

‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो, कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरवाही गरेको भेटियो,’ उनले भनिन्, ‘कतिपय खाद्यन्न पसलमा घून लागेको चामल, चिउरालगायतका खाद्य सामग्री पनि भेटियो । ती सबै सामग्री सफत गरेका छौँ ।’ 

अनुगमनका क्रममा एक खाद्यन्न पसलई जरिबाना गराउने गरी सामान जफत गरेको पनि उनले बताइन्। ‘हामीले सामान जफत गरेका छौँ,’ उनले भनिन्, ‘हामी थप परिक्षण गर्छौ र कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’ उनले संगम स्वीटमा पनि अनुगमन गरेको जानकारी दिइन्। 

‘त्यहाँका दुई किचेनमध्ये एउटामा प्रयोग भएको तेल शुद्ध भेटियो,’ उनले भनिन्, ‘अर्को किचेनमा प्रयोग भएको तेल अशुद्ध भेटियो। विज्ञसहितको खाद्यको टोलीले परिक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बल्यो। त्यो भनेको प्रयोग नै गर्न नमिल्ने तेल भन्ने हुनेरहेछ।’ उनले संगम स्वीटलाई आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको जानकारी दिइन्। 

डंगोलको नेतृत्वमा महानगरको अनुगमन टोली कालिमाटी क्षेत्रमा पुग्दा व्यापारीहरु पसल बन्द गरेर भागेका छन्। अनुगमनका क्रममा म्याद सकिएका वस्तु जफत गरेर महानगरको टोलीले लगेको थियो। त्यहाँका अन्य व्यापारी पसल बन्द गरेर भागेका बताइएको छ। ‘कतिपय ठाउँमा महानगरपालिका अनुगमनमा आयो भनेपछि गोदामहरु सटर लगाएर भागेको पनि भेटियो,’ उनले भनिन्, ‘उहाँहरु आज भागेर केही हुन्न । हामी निरन्तर अनुगमन गर्छौ र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ। ’

उनले अनुगमनका क्रममा घुन परेको चामल चिउरालगायतका खाद्यन्न बिक्री गर्ने कालीमाटी–कुलेश्वरको डीएण्डडी खाद्य सप्लायर्सको सामाना जफत गरेको बताइन्।‘उहाँहरुले हामीलाई म्याद गुज्रिएको सामान फिर्ता लैजानका लागि राखेको भन्नुभयो । तर, हामीलाई विश्वास नलागेपछि जफत गरेका हौँ,’ उनले भनिन्। त्यससँगै अमन खाद्य किरानाको पनि सामान जफत गरेको उनले जानकारी दिएकी छन्।

Comments