•  ६ जेष्ठ २०८१, आईतवार
  •  6:20:31 AM

गठबन्धनमा सहमति : प्रदेश १ कुन क्षेत्रमा कसले पाए टिकट ?

- आश्विन १३, २०७९ मा प्रकाशित


इटहरी । मंसिर ४ को निर्वाचनका लागि पाँच दलीय गठबन्धनले सीट बाँडफाँटको काम करिब टुंग्याएको छ ।वर्तमान सत्ता गठबन्धनमा आवद्ध यी दलहरुले धेरैजसो ठाउँमा कसले टिकट पाउने टुंगो लगाइसकेको स्रोतले जनाएको छ ।

बाँकी रहेका ठाउँमा सहमति जुटाउन दलहरुबीच छलफल जारी छ ।असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेकोले त्यसअघि नै बाँडफाँट टुंगो लगाउने तयारीमा नेताहरु छन् । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्नुपर्ने भएकोले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८२ देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको नेताहरुले बताएका छन् । गठबन्धनमा रहेको माओवादी केन्द्रले ४५ देखि ४७, एकीकृत समाजवादी र जसपाले १६ देखि १८ तथा राष्ट्रिय जनमोर्चाले २ सिट पाउने बताइएको छ ।

मंगलबार साँझसम्म कार्यदलको बैठकले टुंगो लगाए अनुसार प्रदेश १ मा काँग्रेसले पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१ पाउने सहमति भइसकेको छ । माओवादी केन्द्रले झापा ५, २ र ४ मध्ये एक, भोजपुर, मोरङ ५ र सोलुखुम्बु पाउने सहमति भएको छ । नेकपा एसले ताप्लेजुङ र इलाम–१ पाउने सहमति बन्दा जनता समाजवादी पार्टीले सुनसरी १ पाउने सहमति भएको छ ।

जसपाले मोरङ–५ र धनकुटामा पनि दाबी गरिरहेको बताइएको छ । यस्तै यसअघि माओवादीले जितेको जितेको मोरङ ४ मा काँग्रेस र उदयपुर २ मा एकीकृत समाजवादीको पनि दाबी छ । खोटाङमा पनि माओवादी र एकीकृत समाजवादीको दावी गरेको नेताहरुले बताएका छन् । २०७४ मा माओवादीले जितेको झापा–१ यसपटक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिकट पाउने संभावना देखिएको छ । कांग्रेसलाई उक्त सिट छाड्दा झापाकै निर्वाचन क्षेत्र २ वा ४ मध्ये एक माओवादीले पाउने नेताहरुले बताएका छन् ।

Comments