•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:29:08 AM

लागुऔषध बेच्ने पथरीशनिश्चरेकाे रोहिन स्वास्थ्य क्लिनिकमा शिल

- भाद्र १३, २०७९ मा प्रकाशित


पथरी ।औषधि व्यवस्था विभाग विराटनगर शाखाले मोरङको पथरीशनिश्चरे ६ मा रहेको रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीमा सिल गरेको छ ।विभागले गोप्य सूचनाको आधारमा औषधि पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित प्रतिबन्धित औषधी बरामद गरेपछि फार्मेसी सिल गरेकोे हो ।

विभागले प्रतिबन्धित औषधि फेला पारेसँगै रोहिन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीका सञ्चालक २८ वर्षीय रोहिन मण्डललाई नियन्त्रणमा लिएको छ । बिभागले मण्डलको क्लिनिकबाट लागुऔषधी ट्रमाडोल १ हजार ८४० ट्याब्लेट बरामद गरेको छ भने प्रतिबन्धित औषधि स्पास्पैन ५ बट्टा, एस्कुफ डिएक्स ८ पिस, जेनेग्रा रेड २७ पिस, डोर्मीक्याम ओपी २ पिस, भिबल १ बक्सलगायत बरामद गरेको छ ।

लेटाङ प्रहरीले प्रतिबन्धित औषधिसहित पक्राउ गरेका लेटाङ ३ का २२ वर्षीय आसन राई र दिपेश राईको सूचनाको आधारमा विभागले क्लिनिकमा छापा मारेको थियो । छापा मार्ने क्रममा लागुऔषध र प्रतिबन्धित औषधि फेला परेको औषधि व्यवस्था विभाग विराटनगर शाखाका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेका मण्डललाई म्याद थप गरि अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागले लेटाङ प्रहरीले पक्राउ गरेको राईलाई सँगै लिएर मण्डलको फार्मेसीमा छापा मारेको थियो । मण्डल र राईमाथि थप अनुसन्धान भइरहेको छ ।मण्डलले स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी विना लाईसेन्स र विनादर्ता सञ्चालन गर्दै आएको पाइएको छ ।

Comments