•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:09:28 AM

मन्त्री भुसालकाे उपलब्धी : नेपालकाे विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट

- भाद्र १२, २०७९ मा प्रकाशित


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् ।मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् ।

गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको बताइन् । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको उनले जानकारी दिइन् । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको उनको भनाइ छ ।

१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताइन् ।विद्युत् आधारभूत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको उनले जानकारी दिइन् ।

समग्र विद्युत् महसुल दर घटाइएका कारण ग्राहस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको भन्दै उनले प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको उनले बताइन् । विगत ५ वर्षको विद्युतको वार्षिक औसत खपतदर १८ प्रतिशतको दरले वृद्धि भएका उनले जानकारी दिइन् ।

देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको भन्दै उनले ‘स्वदेशी विद्युत् जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले जानकारी दिइन् । ग्याँस प्रयाग घट्न गई स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुगेको उनको दावी थियो ।

Comments