•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:09:38 AM

गुँला पर्वको समापन आज गरिँदै

- भाद्र १२, २०७९ मा प्रकाशित


काठमाडाैं । नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज (आइतबार) विधिवत रूपमा समापन गरिँदै छ । धर्म, कर्म एवम् राम्रो काम गरेर यो पर्व मनाउने परम्परा छ । नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । 

गुँको अर्थ गुण गर्ने, राम्रो एवम् गुनिलो काम तथा अरुको उपकार गर्ने कामलाई जनाउँछ । यसपर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।यसपर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ भन्ने मान्यता छ ।

पञ्चशीलभित्र प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार, झुटो कुरा नगर्ने, लागू पदार्थ एवम् मद्यपान नगर्ने पर्छन् । पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्नेलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने । यतिसम्म नियम पालना गर्नुलाई दशशील मान्ने प्रचलन छ । 

यो महिनामा क्षमता अनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । भगवान् गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गरेको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको हो । गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गर्ने गरिन्छ । 

Comments