•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:54:50 AM

जिसस झापाका पदाधिकारीलाई बधाई तथा सम्मान

- श्रावण १२, २०७९ मा प्रकाशित


झापा ।  जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई तथा सम्मान प्रदान गरिएको छ ।संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रमका बीच प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा सम्मानपत्र प्रदान गरे ।

जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री तथा सदस्यहरु कपिलमणि काफ्ले, जुनु नेपाली दर्जी, जलाल अलि, तुलसा काफ्ले बराल, देविका बसेल, रीता नेपाली र सन्तोष सोरेनलाई सम्मान प्रदान गरिएको हो । उपप्रमुख रोक्का भने हाल काठमाडौंमा रहेकोले अनुपस्थिति थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सरावागीले जिससको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै जिल्लामा समन्वयकारी र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जिल्लामा भूमि सम्बन्धी समस्या, सहकारीका समस्या तथा विपन्नको जीवनस्तर उकास्ने कार्यमा जिससले समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

जिसस प्रमुख बरालले आफू कार्यकारी भूमिका नभए पनि जिल्लामा समन्वयको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उद्देश्य मिल्ने विषयमा उनले संवाद समूह लगायतका सरोकारवालासँग सहकार्य गर्ने बताए ।

बरालले जिससको टिम काममा विश्वास गर्ने भएकाले काम खोजेर भए पनि प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताएका छन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले जिससको टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।

Comments