•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:42 PM

एसइईको नतिजा आज सार्वजनिक हुदै

- श्रावण ११, २०७९ मा प्रकाशित


काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले सकभर कम त्रुटी होस् भन्ने उद्देश्य लिएको बताए । विद्यार्थी, परीक्षा केन्द्र, शिक्षक, उत्तरपुस्तिका परीक्षक, सम्परीक्षकलगायतका कारणले परीक्षामा त्रुटिको अवस्था रहन्छ ।

पछिल्लो समय नतिजामा त्रुटि हुँदा मुख्य गरी परीक्षार्थीले दुःख झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।त्रुटि केलाउन परीक्षा नियन्त्रण कार्यालयले आफ्ना बाहेकका अन्य कार्यालयका शिक्षा सेवाका कर्मचारीलाई पनि परिचालन गरेको बताएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

जसमा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार जना परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ ।

साउन २० गते परीक्षा सकिएको तीन महिना पुग्दैछ । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए । एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् । यसैगरी विभिन्न वेब साइटहरुबाट पनि आधिकारिक जानकारी दिइने जनाइएको छ । 

Comments